राजनीति

दल दर्ता गर्न चार दिन थप

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ता म्याद चार दिन बढाएको छ। आयोगका अनुसार बुधबारसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १ सय ६ वटा दलले निवेदन दिएका छन्।

प्रतिनिधिसभा निर्वाचन हुन ९९ दिन बाँकी छ। आयोगका अनुसार नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मिुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायत आयोगमा दर्ता भइसकेका छन्। आयोगमा दर्ता कायम रहेका नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन निवेदन दिइसकेको कर्मचारीहरूको भनाइ छ।

यसअघि आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्न समय दिएको थियो। पार्टीहरूको आग्रहबमोजिम दल दर्ताका लागि थप ४ दिन समय दिइएको आयोगले जनाएको छ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता  अवधि २०८२ मंसिर १४ गतेसम्म थप गरिएको छ’, आयोगद्वारा बुधबार  जारी विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको संख्या १३७ पुगेको छ। आयोगमा नयाँ दल दर्ताका लागि प्राप्त निवेदनहरूमाथिको कारबाही पनि जारी रहेको कर्मचारीले जनाएका छन्।

आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरूलाई आयोगमा दल दर्ता हुन मंसिर १ देखि ७ गतेसम्मको समय दिइएको र त्यस अवधिमा १३ वटा दलबाट दल दर्ता निवेदन प्राप्त भएको छ।  

प्रकाशित: ११ मंसिर २०८२ ०८:०० बिहीबार