रौतहट निवासी भोला साहको घरमा अवैध सामान भेटिएको घटनासम्बन्धी समाचारमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेता भनेर उल्लेख गरिएकोप्रति पार्टीले आपत्ति जनाएको छ।
रास्वपा मधेस प्रदेश र रौतहट जिल्ला समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै साह पार्टीको कुनै पनि आधिकारिक पद, कमिटी वा जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन्।
पार्टीका समर्थक वा शुभेच्छुक हुनु र आधिकारिक नेता वा पदाधिकारी हुनु फरक विषय भएको उल्लेख गर्दै रास्वपाले व्यक्तिगत गतिविधि वा घटनालाई आधार बनाएर साहलाई पार्टीको नेता भनेर प्रस्तुत गर्नु तथ्यसंगत नभएको जनाएको छ।
समाचार प्रकाशन तथा प्रसारणअघि सम्बन्धित व्यक्तिको पार्टीगत हैसियत र जिम्मेवारी आधिकारिक स्रोतबाट यकिन गर्न सञ्चारमाध्यमलाई रास्वपाले आग्रह गरेको छ।
तथ्य पुष्टि नगरी ‘रास्वपा नेता’ भनेर समाचार सम्प्रेषण गर्दा आमपाठक तथा दर्शकमा भ्रम सिर्जना हुन सक्ने भन्दै समाचार सम्प्रेषणमा संवेदनशील हुनसमेत पार्टीले आग्रह गरेको छ।
यो पनि पढ्नुहोस्
रास्वपा नेताको घरबाट ५० लाख बराबरको अवैध सामग्री बरामद
प्रकाशित: ७ आश्विन २०८३ १७:१३ बुधबार