राजनीति

अरूको भन्दा कांग्रेसकै आदर्श र सिद्धान्त राम्रो छ, अब जनतालाई बुझाउनुपर्छ: देउवा

तस्बिर: रासस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सिद्धान्त र आदर्श सबैभन्दा राम्रो भए पनि त्यसलाई जनतासम्म प्रभावकारी रूपमा पुऱ्याउन नसकिएका बताएका छन्। उनले  पार्टीको सिद्धान्त र आदर्शलाई जनता माझ पुर्‍याउन आवश्यक रहेकोमा जोड दिए।

पार्टी कार्यालय, सानेपामा सोमबार आयोजित ‘पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरूलाई सम्मान पत्र वितरण’ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो धारणा राखेका हुन्।

‘अन्य प्रतिस्पर्धी पार्टीहरुभन्दा हाम्रो सबभन्दा राम्रो सिद्धान्त छ, हाम्रो आदर्श राम्रो छ,’ सभापति देउवाले भने, ‘तर त्यसलाई हामीले मिडिया लगायत सम्पूर्ण देशवासीलाई व्यापक रूपमा बुझाउनु छ।’

उनले नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक समाजवादको सिद्धान्त बोकेको पार्टी भएको उल्लेख गर्दै पार्टीको विचार, शिक्षा र साहित्यलाई पुस्तकालयमार्फत सबैमाझ पुऱ्याउन सकिए पार्टीप्रति जनआकर्षण बढ्ने बताए।

सभापति देउवाले वर्तमान समानुपातिक र समावेशी निर्वाचन प्रणालीमा बहुमत ल्याउन सबै जातजाति, जनजाति, आदिवासी र समुदायको समर्थन आवश्यक पर्नेमा जोड दिए।

‘अहिलेको समानुपातिक, समावेशी आधारमा बनेको संविधानअनुसार सबै तहका, सबै जातजाति, जनजाति, आदिवासी सबैको बढीभन्दा बढी समर्थन प्राप्त गर्न सक्यौँ भने हाम्रो पार्टी बहुमत ल्याउने पार्टी बन्न सक्छ,’ उनले भने, “यसमा यो पुस्तकालयले धेरै ठूलो मद्दत गर्नेछ।’

उनले पुस्तकालयमा भएका बीपी कोइरालाका सिद्धान्तलगायत महत्त्वपूर्ण किताबहरू अध्ययन गर्न र गराउन पार्टीका नेता-कार्यकर्ताहरूलाई आग्रह गरे। 

प्रकाशित: ५ श्रावण २०८२ १९:५८ सोमबार