राजनीति

निर्वाचन पराजयमा दलहरू मौन

विघटित प्रतिनिधिसभाका प्रमुख दलहरू निर्वाचनमा पराजय भोग्नुपरेको विषयमा मौन बनेका छन्। प्रतिनिधिसभा समानुपातिकतर्फ बन्दसूचीबाट अन्तिम नाम छनोट गर्न नेपाली कांग्रेस, एमालेसहितका दलहरूका बैठक सम्पन्न भए पनि निर्वाचनमा भएको पराजयमा उनीहरू मौन देखिएका हुन्।

चुनावी परिणामपछि नेतृत्वको पक्ष र विपक्षमा नेता–कार्यकर्ता विभाजित देखिएका छन् तर ती दलका बैठकमा निर्वाचनमा पराजयको विषयले प्रवेश पाएन।

एमाले उपमहासचिव लेखराज भट्टले पार्टी तल्लो तहबाटै समीक्षा भइरहेको र त्यसको रिपोर्ट तयार पार्ने काम भइरहेको दाबी गरेका छन्। समानुपातिकतर्फको नाम टुंगो लगाउन शनिबार बसेको सचिवालय बैठकमा पराजयका विषयमा छलफल नभएको सञ्चारकर्मीलाई जानकारी दिए।

उनले अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेकाले समीक्षा हुन नसकेको उनलको भनाइ थियो। ‘समीक्षाको पार्टमा हामी कहीं कतै प्रवेश गरेनौं’, उनले भने, ‘हरेक योजनाको अन्त्यपछि समीक्षा हुने गर्छ। यसका लागि केन्द्रले निर्देशन दिइराख्नुपर्ने आवश्यकता छैन।’

पार्टीले विगतमा गरेका काम तथा भदौ २३ र २४ को घटनालाई पनि पार्टीले ठिक ढंगले जनतासमक्ष सम्प्रेषण गर्न नसक्दा निर्वाचन परिणाम पक्षमा नआएको वास्तविकतालाई स्वीकारेर अगाडि बढ्नुपर्ने उनले बताए। यो निर्वाचनमा प्रत्यक्षतर्फ नौ क्षेत्रको मात्र परिणाम आफ्नो पक्षमा पारेको एमालेले समानुपातिकतर्फ १३.४६ प्रतिशत मात्र मत पाएको छ। सोहीअनुसार पाउने १६ सदस्यको नाम उसले शनिबार नै टुंगो लगाएको हो। एमाले विघटित प्रतिनिधिसभामा दोस्रो थियो। अघिल्लो निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४५ र समानुपातिकमा ३४ सिट जितेको थियो।

त्यस्तै विघटित प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको कांग्रेस पनि यसपटक नराम्ररी पराजित भएको छ। २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ ५७ क्षेत्रको परिणाम पक्षमा पारेको कांग्रेस यसपटक १८ सिटमा खुम्चिएको छ।

त्यस्तै अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ३२ सिट पाएको कांग्रेसले अहिले २० सिटमात्र पाएको छ। समानुपातिकतर्फबाट सांसदमा सिफारिस गरिने २० जनाको नाम टुंगो लगाउन आइतबार दिउँसो कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्यो। कार्यसम्पादन समितिले नाम टुंगो लगाए पनि चुनावमा पार्टी पराजयका विषयमा छलफल भएन। बैठकपछि प्रवक्ता देवराज घिमिरेले निर्वाचन प्रक्रिया नसकिएको प्रतिक्रिया दिँदै छिट्टै केन्द्रीय समिति बैठक बसेर चुनावी परिणामको समीक्षा गरिने जानकारी दिए।

कांग्रेस महामन्त्रीहरुले मातहतका निकायहरूलाई परिपत्र गर्दै निर्वाचनमा पार्टीले अपेक्षाअनुसारको नतिजा ल्याउन नसक्नुको विस्तृत समीक्षा प्रतिवेदन चैत ३ गतेभित्र पठाउन परिपत्र गरेका छन्। परिपत्रमा पार्टीको विधान २०१७ को धारा ३४ अनुसार तत्काल जिल्ला र प्रदेश अनुशासन समिति गठन गर्न पनि भनिएको छ। अघिल्लो निर्वाचनको तुलनामा अहिले कांग्रेसले समानुपातिकमा १० लाख मत गुमाएको छ। समानुपातिकतर्फ १६.२७ प्रतिशत मतमा खुम्चेको छ।

कांग्रेस र एमाले मात्र होइन, करिब १९ वर्षअघि हिंसात्मक आन्दोलनबाट मूलधारको राजनीतिमा आएका पुष्पकमल दाहाल र उनी नेतृत्वमा विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) देखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्मले पनि बैठक राखेर समानुपातिकतर्फ नाम सिफारिस गरेका छन् तर निर्वाचनमा पराजयका विषयमा उनीहरू पनि केही बोलेका छैनन्। अघिल्लो प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ र समानुपातिकमा १४ गरी ३२ सिट जितेको थियो। यसपटकको चुनावमा तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल मिलेर नेकपा बनेको हो।

०७९ को निर्वाचनमा उदाएका तर अहिले प्रत्यक्ष र समानुपातिक दुुवैतर्फ सिट नपाएका दलहरू पनि पराजयका विषयमा छलफलमा जुटेका छैनन्। निर्वाचन मिति घोषणापछि स्थापना भएको उज्यालो नेपाल पार्टीले भने चुनावमा पराजय विषयमा समीक्षा गरेको छ। फागुन २९ र ३० गते केन्द्रीय कार्यालयमा चुनावी अनुभवको विश्लेषण गर्दै उसले अब संगठन विस्तारलाई मुख्य प्राथमिकता दिने निष्कर्ष निकालेको छ।

२०७९ को निर्वाचन हुनुभन्दा ६ महिनाअघि मात्र स्थापना भएको रास्वपा यसपटक प्रतिनिधिसभामा झन्डै दुई तिहाइसहित पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ १२५ क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको उसले समानुपातिकतर्फ ४७.८० प्रतिशत मतसहित ५७ सिट पाएको छ।

रास्वपाले ०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ गरी २१ सिट पाएको थियो। रास्वपाले यसपटक समानुपातिकतर्फ पाएको ५७ सिटका लागि विभिन्न क्लस्टरबाट नाम सिफारिस गरेको छ। उसले खसआर्यतर्फ १७, आदिवासी जनजातितर्फ १६, मधेसीतर्फ नौ, दलिततर्फ आठ, थारुतर्फ चार र मुस्लिमतर्फ तीनजनाको नाम सिफारिस गरिएको जनाएको छ। सिफारिसमा ४८ महिला र नौ पुरुष छन्।

त्यस्तै चुनाव मिति घोषणापछि स्थापना भएको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ। उसले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ (३.५७ प्रतिशत) मतसहित चार सिट पाएको छ। सोही आधारमा उसले शनिबार नै चार जनाको नाम छनोट गरेको छ।

प्रकाशित: २ चैत्र २०८२ ०८:०७ सोमबार