फागुन २१ मा हुने निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलहरू धमाधम दर्ता हुन लागेको छ। यता आयोगमा थरीथरी नामका नयाँ दल दर्ता गर्ने प्रक्रिया पनि जारी छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम हालसम्म ४० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए। उनका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समयसीमा भनेको मंसिर १० गते हो। अझ चार दिन बाँकी रहेकाले त्यतिबेलासम्म अरू दलहरू पनि थपिनेछन् ।
‘निर्वाचन आयोगले दल दर्ता गर्ने नियमित प्रक्रिया हो तर निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ता गर्नुपर्छ,’ प्रवक्ता भट्टराईले भने, ‘नयाँ दल गर्न जति बेला पनि सकिन्छ तर फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि नयाँ दल दर्ता गर्नुपरे मंसिर ६ गतेसम्म दर्ता गरिसक्नुपर्छ । किनभने त्यसपछि दल दर्ताका लागि निवेदन दिएका नयाँ दललाई पुनः दल दर्ता गर्न समय नपुग्न सक्छ।’
आयोगका अनुसार दल दर्ता गराएका सबै दलले प्रत्यक्ष (पहिलो हुने) तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा सहभागी हुन सक्छन्। आयोगमा दर्ता भएका दलहरूमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), नारायणमान बिजुक्छे प्रमुख रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा), डोलप्रसाद अर्याल प्रमुख रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), अशोक राई जनता समाजवादी पार्टी (जसपा) प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी मैनाली नेतृत्वको नेकपा माले, चन्द्रकान्त राउत (सिके) राउत नेतृत्वको जनमत पार्टी, रुक्मणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक पार्टी, एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दललगायत छन्।
यसैगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वाम दल मिलेर गठन भएको र पुष्पकमल दाहालको नेतृत्वमा रहेको नयाँ दल नेपाली कम्युनिस्ट पार्टीसहितका दलले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता गराएका छन्। यसैगरी हरिनारायण यादव नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल, दिनेशराज प्रसाई नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, अनिलकुमार झाको नेपाल सद्भावना पार्टी, कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्। शनिबार मात्र नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।
आयोगका अनुसार हालसम्म १२ वटा नयाँ दलले दल दर्ताको प्रमाणपत्र पाएका छन्। आयोगबाट २८ दल भने दल दर्ताको प्रमाणपत्र पाउने प्रक्रियामा छन्। आयोगका अनुसार श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय ऊर्जाशील पार्टी, पिपल्स फस्र्ट पार्टी, उज्यालो नेपाल पार्टीलगायत दल आयोगमा दर्ता भएका हुन्। नियमानुसार दल गर्न प्रक्रिया पूरा गरेका दलहरूलाई आयोगले ४५ दिनभित्र दर्ता प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ। आयोगका अनुसार दल दर्ताका लागि निवेदन परेका दलहरूबारे आयोगका अधिकारीहरूले सनाखत र कागजात रुजु गर्ने काम गरिरहेका छन्। यतिबेला नयाँ नामका दल दर्ताको होडबाजी नै चलिरहेको छ। दल दर्ताका लागि निवेदन दिनेहरूले निर्वाचन चिह्न पनि रोज्न सक्ने व्यवस्था मिलाइएको छ।
नयाँ मतदाता आठ लाख ३७ हजार
निर्वाचन घोषणापछि मंसिर ५ गतेसम्म आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार फोटो तथा औंठा छापसहितको बायोमेट्रिक्समार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएका हुन्। आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गरेपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या बढेको थियो ।
प्रकाशित: ७ मंसिर २०८२ ०८:३१ आइतबार



-1200x560-600x400.jpg)