राजनीति

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु, उनीहरू विरुद्ध उजुरी आह्वान हुँदै

संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ। 

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले उजुरी अहवान् गर्ने निर्णय गरेपछि संसदीय प्रक्रिया अघि बढेको हो। गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकालगायत १३ वटा देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। 

प्रस्तावित राजदूतहरूको सम्बन्धमा कुनै गुनासो, सूचना वा उजुरी भएमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र दिन सकिनेछ। समितिले यसबारे शुक्रवार सार्वजनिक सूचना प्रकाशित गर्दै छ।

आम नागरिकले स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट उजुरी दर्ता गर्न सक्नेछन्। प्रस्तावित व्यक्तिहरूको बारेमा आम नागरिकलाई जानकारी गराउन र पारदर्शिता कायम गर्न यो प्रक्रिया अघि बढाउने व्यवस्था छ। 

तोकिएको १० दिनको म्यादभित्र प्राप्त हुने उजुरी तथा सूचनाहरूको अध्ययनपश्चात् समितिले प्रस्तावित राजदूतहरूसँग प्रत्यक्ष छलफल तथा सुनुवाइ प्रक्रिया अगाडि बढाउनेछ ।  

प्रकाशित: ८ आश्विन २०८३ १२:०५ बिहीबार