नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसदलाई गफ गर्ने थलो मात्र नभई कानून निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक संस्था भएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विश्वमा संसदलाई कहिलेकाहीँ व्यंग्यात्मक रूपमा गफ गर्ने अखडाका रूपमा बुझिने गरिए पनि यसको मूल भूमिका कानून निर्माण र जनताको पक्षमा काम गर्नु भएको स्पष्ट पारे ।
‘संसदलाई सामन्यतया गफ गर्ने अखडाको रुपमा पनि दुनियाँमा व्यंग्यात्मक हिसावले बुझ्ने गरिन्छ । यो कानुन निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक थलो हो । तर संसदलाई हामीले कतिपय अवस्थामा बहुमतको आधारमा पेल्ने एउटा थलोको रुपमा विकास हुँदै आएको पनि पाइएको छ । यो संसद बहुमतको मात्र होइन, सत्यको आवाज सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने तथा जनताको पक्षमा काम गर्ने थलोका रूपमा विकास होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
उनले बहुमतको आधारमा निर्णय थोपर्ने प्रवृत्ति देखिँदै आएकोप्रति चिन्ता व्यक्त गर्दै संसद सत्यको आवाज सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने थलोका रूपमा विकास हुनुपर्नेमा जोड दिए ।
सांसद दुलालले आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–२ का नागरिकका समस्या पनि संसदमा उठाएका छन् । उनले मतदाताले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै या त जनताको उचित व्यवस्थापन गर्न वा बाँदर नियन्त्रण गर्नुपर्ने आवाज उठाएको उल्लेख गरे ।
‘भोट दिने समयमा नागरिकहरूले कि सरकारले हामी जनतालाई लगेर पालोस् कि सरकारले बाँदरलाई कतै लगेर नियन्त्रण गरोस् भन्ने आवाज उठाउनु भएको छ,’ उनले भने ।
प्रकाशित: २३ चैत्र २०८२ १३:५६ सोमबार