राजनीति

संसद् पुनः स्थापना होइन, चुनाव नै निकास: विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मुलुकको वर्तमान राजनीतिक घटनाक्रमले संविधान र लोकतन्त्रलाई क्षतिग्रस्त बनाएको टिप्पणी गर्दै अब संसद पुनःस्थापना भन्दा ताजा जनादेश नै उत्तम विकल्प हुने बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै नेता निधिले कांग्रेसले राजनीतिक सहमतिमै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जाने बाटो रोजिसकेकाले अब पछि हट्न नमिल्ने तर्क गरेका हुन्।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला नेता निधिले आफ्नो व्यक्तिगत र राजनीतिक धारणा निर्वाचनकै पक्षमा रहेको प्रस्ट पारे।

‘प्रतिनिधिसभा प्राप्त गर्ने दुई वटा बाटो छन्– एउटा निर्वाचन र अर्को पुनःस्थापना। तर निर्वाचन सबैभन्दा उत्तम बाटो हो,’ निधिले भने, ‘अहिलेको घटनाक्रमले संविधान, लोकतन्त्र र प्रणाली नै क्षतिग्रस्त भएको छ। यो क्षतिग्रस्त प्रणालीलाई मर्मत गर्न र सही ट्रयाकमा ल्याउन जनताको ताजा जनादेश नै चाहिन्छ।’

नेता निधिले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने र फागुन २१ गते निर्वाचन गर्ने निर्णयमा कांग्रेसले राष्ट्रपतिलाई सहमति दिएको खुलासा गरे।

राजनीतिक रूपमा सहमति जनाइसकेपछि अब अदालतको बाटो हेरेर पुनःस्थापनाको वकालत गर्नु ‘राजनीतिक बेइमानी’ हुने उनको आशय थियो।

‘हामीले राष्ट्रपतिलाई फागुन २१ गते चुनाव गराउन र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन राजनीतिक सहमति दिएका छौँ,’ निधिले भने, ‘हामीले राजनीतिक सहमति दिइसकेका हुनाले हाम्रो राजनीतिक धर्म के हो भने– त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्ने। आफैले दिएको वचनबाट पछि हट्न मिल्दैन।’

प्रकाशित: २४ मंसिर २०८२ २०:०७ बुधबार