प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको सामान्य छलफल सुरु भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण केही दिनदेखि अवरुद्ध सदनमा बुधबार परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिएसँगै बजेटमाथि सैद्धान्तिक छलफलको बाटो खुलेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमानमाथि बुधबारदेखि सामान्य छलफल सुरु भएको छ।
पूर्व निर्धारित कार्यतालिका अनुसार जेठ १८, १९ र २० गते छलफल हुनुपर्ने भए पनि जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले सदन अवरोध गर्दै आएका थिए।
बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको उक्त टिप्पणी प्राविधिक सन्दर्भमा आएको भन्दै स्पष्टीकरण दिएपछि सदनको अवरोध हटेको हो।
मन्त्रीको जवाफपछि बोलेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने मागलाई भने यथावत् राखेका छन्। उनीहरूले राष्ट्रियता जस्तो संवेदनशील विषयमा कार्यपालिका प्रमुखले दिएको गैरजिम्मेवार अभिव्यक्ति संसद्को अभिलेखमा रहन नहुने तर्क गरेका छन्।
बजेट छलफल सुरु हुनुअघि संसद्मा केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले बोल्नका लागि समय माग गरे पनि सभामुख डोलप्रसाद अर्यालले समय नटिपाएको भन्दै समय दिन इन्कार गरेका थिए।
त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरूले ‘वेल’ घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए।
सभामुख अर्यालले सांसदहरूलाई मर्यादित भई आआफ्नो सिटमा गएर बसेपछि मात्र समय उपलब्ध गराउने अडान लिएपछि स्थिति सामान्य बनेको थियो। साम्पाङले रोष्टममा पुगेर आफ्ना धारणा राखेपछि सभामुखले कार्यसूची अनुसार बजेटमाथिको छलफल अघि बढाएका हुन्।
अर्थमन्त्री डा. वाग्लेले प्रस्तुत गरेको बजेटमाथि अब सांसदहरूले दफावार धारणा राख्ने क्रम सुरु भएको छ।
प्रकाशित: २७ जेष्ठ २०८३ १८:२३ बुधबार