राजनीति

नेतृत्व नसच्चिए एमाले झन् कमजोर हुने पाण्डेको दाबी

नेकपा नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेतृत्व नसच्चिए आगामी निर्वाचनमा पार्टीको सिट संख्या अत्यन्त न्यून हुन सक्ने चेतावनी दिएका छन्।

 बुटवलमा शनिबार चिन्तन अभियान नेपालले आयोजना गरेको कार्यक्रममा उनले पछिल्ला तीन निर्वाचनको नतिजा केलाउँदै एमाले मात्र होइन, समग्र पुराना राजनीतिक दलहरूको अवस्था कमजोर बन्दै गएको बताएका हुन्।

कार्यशैली परिवर्तन नगर्ने हो भने पुराना सबै दल ‘सामूहिक मलामी जाने’ स्थितिमा पुग्ने उनको भनाइ थियो। नेता पाण्डेले २०७४ सालको निर्वाचन सम्झँदै एमाले–माओवादी गठबन्धनले १७४ सिट जितेको भए पनि त्यस उपलब्धि जोगाउन नसकेको स्वीकार गरे। ‘पहिला कम्युनिस्टहरू ३/४ वटा बसमा आउँथे, २०७९ सम्म आइपुग्दा एउटा बसमा अट्ने भयौं, अहिले त माइक्रो बसमा अट्ने अवस्थामा छौं। यस्तै अवस्था जारी रह्यो भने अर्को पटक स्कुटरमै अट्ने हुन्छ,’ उनले व्यंग्यात्मक रूपमा भने। उनले पार्टीभित्र कमजोरी सुधार गर्न कठोर निर्णय लिनुपर्नेमा जोड दिए ।

नेतृत्वले आत्मालोचना नगरे आगामी दिन थप कष्टकर हुने र चुनाव लड्न इच्छुक उम्मेदवारसमेत नपाइने अवस्था आउने पाण्डेले चेतावनी दिए। ‘हार्ने निश्चित भएको चुनावमा कार्यकर्ता किन उठ्छ?’ उनले प्रश्न गरे।

उनले विगतका गलत निर्णयकै कारण पार्टी कमजोर बनेको उल्लेख गर्दै अब सही दिशातर्फ अघि बढ्नुपर्ने बताए। साथै संविधानमै पार्टी अध्यक्ष वा प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था गर्न नसक्नु ठुलो कमजोरी भएको उनको भनाइ थियो।

यसैबिच पाण्डेले पार्टीलाई पहिलेकै लयमा फर्काउन र अझ शक्तिशाली बनाउन तीन प्रस्ताव अघि सारेका छन्। उनले शनिबार सामाजिक सञ्जालमा पार्टी रूपान्तरणका लागि तीन प्रस्ताव राखेका हुन्। उनले अब केवल राजनीतिक शक्ति मात्र नभई देशका जटिल समस्या समाधान गर्ने विज्ञता र प्रविधिसहितको गतिशील संस्था बन्नुपर्नेमा जोड दिए। इतिहासको ब्याजमा भन्दा पनि भविष्यको लगानीमा ध्यान दिए पार्टी पहिलेकै लयमा फर्किने मात्र नभई आधुनिक र शक्तिशाली भएर उदाउने उनको भनाइ छ। पार्टी बचाउन र रूपान्तरण गर्न नेता पाण्डेले तत्काल तीनवटा मुख्य क्षेत्रमा काम गर्नुपर्ने बताएका छन्।

पहिलो प्रस्तावमा उनले विज्ञतामा आधारित राजनीतिमा जोड दिएका छन् । पार्टी अब भाषणमा मात्र सीमित नभई विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने प्राविधिक रोडम्याप तयार गर्नुपर्ने उनको भनाइ छ।

दोस्रो प्रस्तावमा व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्दै डिजिटल मेरिटोक्रेसी लागु गर्नुपर्ने उनले बताएका छन्। यसका लागि आधुनिक प्रविधि र पारदर्शी मूल्यांकन प्रणालीमार्फत हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन हुनुपर्ने उनले औंल्याएका छन्। तेस्रो प्रस्तावका रूपमा उनले संरचित पुस्तान्तरणको मोडल अघि सारेका छन्। अनुभवी नेताहरूको ज्ञानलाई प्रयोग गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन को–लिडरसिप र मेन्टरसिपको वैज्ञानिक प्रणाली सुरु गर्नुपर्ने पाण्डेको भनाइ छ।

प्रकाशित: ८ चैत्र २०८२ ०७:२१ आइतबार