राजनीति

एमसिसी विरोधीलाई पाण्डेले सोधे: अमेरिकी सेनाको अड्डा कहाँ बस्यो, स्टेसन खोइ ?

‘नेपाली कम्युनिस्टलाई चीन आफैले बचाइदिएको भ्रम छ’

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसिसी विरोधमा रहेका ठुला कम्युनिस्ट नेतालाई एमसिसी कार्यान्वयन भइसकेपछि सैनिक अड्डा कहाँ बसेको छ ? भनेर प्रश्न सोधेका छन्। आइतबार ‘काष्ठमण्डप संवाद श्रृंखला’बहसमा बोल्दै नेता पाण्डेले यस्तो प्रश्न सोधेका हुन्। उक्त बहस कार्यक्रममा पाण्डेबाहेक एमसिसीको चर्को विरोधमा सुनिने गरेका नेताहरू एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्व एमाले नेता भीम रावल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पनि सहभागी थिए। 

‘म के कुरामा सहमत छैन भने एमसिसी कार्यान्वयन हुँदा एमसिए–नेपालको कार्यालय यहाँ बस्दा अमेरिकी सैनिक अड्डा नेपालमा बस्छ,’ बहसमा नेता पाण्डेले भने, ‘म त यसको कुनै तात्त्विक अर्थ देख्दिनँ। अहिलेसम्म बसिसक्या हुनुपर्ने, नेपाल उपनिवेश भइसकेको हुनुपर्ने ! स्टेसन खोइ त ? छैन त ! कहाँ छ त्यो?’ 

नेपालका कम्युनिस्ट नेताहरूमा ‘वनको बाघले भन्दा पनि मनको बाघले खाइरहेको स्थिति’ आफूले देखिरहेको उनले बताए । नेपालका कम्युनिस्टहरूमा अर्को भ्रम ‘अमेरिकाले चीनलाई घेरा हाल्दैछ हामीले जोगाइदिनुपर्छ’ भन्ने रहेको पनि रहेको पाण्डेले बताए। उनले भने, ‘के हामीले जोगाएर चीन जोगिन्छ ? चीन आफ्नै बलमा जोगिन सकेन भने हामीले जोगाएर जोगिने हो र? नेपाली कम्युनिस्टहरूलाई लाग्छ कि–मैले जोगाइदिएको छु चीनलाई, नत्र उहिल्यै अमेरिकाले खाइसक्थ्यो ! घेरा हालिसकेको थियो भन्ने।’ 

नेपालबाट मात्रै चीनमा जान सक्ने स्थिति अमेरिकालाई नभएको पनि उनले बताए। ‘म त त्यस्तो देख्दिनँ। त्यस कारण हामीले हाम्रा विश्लेषणमा बढी यथार्थपरक र आफ्नो देशलाई कसरी हित हुन्छ भन्ने कुरा हेर्नुपर्छ,’ नेता पाण्डेले भने। 

नेपाललाई एमसिसी र बिआरआई दुवै चाहिने पनि पाण्डेले बताए। ‘हामीलाई सबै पैसा चाहिन्छ। सबै किसिमको सहयोगले मात्र नेपाल बन्न सक्छ,’ उनले भने, ‘एउटा लिने अर्को नलिने भन्यो भने माग्नेलाई तातो पाइन्छ? कि हामीलाई दिन बजारमा सबै बस्या छन्?’ 

प्रकाशित: ८ भाद्र २०८२ १७:०३ आइतबार