नेकपा एमालेकी सांसद पद्या अर्यालले देश संकटका बेला प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अर्यालले मुलुकमा अशान्ति र तनावपूर्ण अवस्था उत्पन्न भइरहेका बेला प्रधानमन्त्री मौन बसेको भन्दै संकटका समयमा प्रधानमन्त्रीले जनतामाझ उपस्थित भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताइन्।
‘यो देशमा समस्या हुँदा हामी गम्भीर छौँ। सरकारले चाल्ने हरेक सकारात्मक कदममा हामी साथ दिन तयार छौँ। तर देशमा दंगा भइरहँदा, अशान्ति फैलिरहँदा यो मुलुकका प्रधानमन्त्री कहाँ हुनुहुन्छ?’ भन्दै उनले प्रधानमन्त्रीले सिंहदरबारमा मात्र सीमित नभई संकटका बेला जनतासँग संवाद गर्नुपर्ने बताइन्।
अर्यालले प्रधानमन्त्रीको पद केवल औपचारिकताका लागि नभई संकटका समयमा जनतालाई भरोसा दिलाउने जिम्मेवारीका लागि भएको उल्लेख गर्दै जनताको सरोकारका विषयमा सरकार अग्रसर हुनुपर्नेमा जोड दिइन्।
उनले प्रमुख प्रतिपक्ष सरकारसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारिन्। मुलुकको एकता, शान्ति र स्थायित्वका लागि सरकारसँग हातेमालो गर्न एमाले सधैँ तयार रहेको बताइन्।
सांसद अर्यालले विगतका कैलालीको टिकापुर, रौतहटको गौर, कपिलवस्तु तथा वीरगञ्जलगायतका संवेदनशील घटनाको स्मरण गर्दै यस्ता परिस्थितिमा सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्ने बताइन्। साथै उनले सरकारलाई नागरिकमा सुरक्षा र विश्वासको अनुभूति सरकारले गराउनुपर्ने बताइन्।
प्रकाशित: १४ श्रावण २०८३ ११:५५ बिहीबार