राजनीति

आनी छोइङ डोल्माको नियुक्तिमाथि कारणसहित जवाफ दिन आदेश

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय कानुनी रूपमा उचित छ कि छैन भन्ने विषयमा सर्वोच्च अदालतले जवाफ मागेको छ। नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई उपाध्यक्षमा नियुक्त गर्नुको आधार र कारणसहित उपस्थित हुन नेपाल सरकार, लुम्बिनी विकास कोषलगायत विपक्षीका नाममा आदेश जारी गरेको छ।

अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नसमेत विपक्षीहरूलाई बोलाएको छ।

आनी छोइङको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई सार्वजनिक पदमा नियुक्त गरिएको भन्दै नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाइएको थियो।

राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले दायर गरेको रिटमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङ डोल्मा उक्त पदका लागि योग्य नरहेको दाबी गरिएको छ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) बमोजिम डोल्मालाई कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो।

सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेसँगै नियुक्तिको कानुनी आधार र योग्यतासम्बन्धी विवाद अब न्यायिक छलफलको विषय बनेको छ।

प्रकाशित: ९ मंसिर २०८३ १६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App