प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले रसुवामा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारलाई सबै राजनीतिक दलले साथ दिनुपर्ने बताएका छन्।
रसुवामा आएको बाढीपछि दोस्रो पटक बसेको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा शाहीले विपद्का बेला सत्ता पक्ष र प्रतिपक्ष भनेर विभाजित हुने समय नभएको बताए। उनले सबै पक्ष एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्नेमा जोड दिए।
उनले बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुगे पनि ती सामग्री स्थानीय नागरिकसम्म प्रभावकारी रूपमा पुग्न नसकेको बताए। साथै ठूलो परिमाणमा राहत सामग्री नेपाली सेनाका क्याम्प र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा थन्किएको अवस्था रहेको बताए।
उनले राहत वितरणका लागि स्थानीय तहलाई परिचालन गर्नुपर्नेमा जोड दिँदै शाहीले स्थानीय तहसँग वडा अध्यक्ष र गाउँपालिका अध्यक्षमार्फत प्रभावित परिवारको वास्तविक अवस्था पहिचान गर्न सहज हुने बताए।
‘स्थानीय तहले गलत काम गर्छ भने संघीय सरकारले निगरानी गरोस्, तर राहत वितरण स्थानीय तहबाटै गर्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने।
शाहीले संघीय सरकार र स्थानीय तहबीच पर्याप्त समन्वय हुन नसकेको भन्दै कुन ठाउँमा कति मानिस बेपत्ता छन्, कसलाई के आवश्यक छ र कुन परिवार प्रभावित छन् भन्ने जानकारी स्थानीय तहलाई बढी हुने भएकाले राहत वितरणमा उनीहरूको भूमिका महत्वपूर्ण हुने बताए।
उनले सुरुङमा फसेका व्यक्तिको उद्धारलाई पनि तत्काल प्राथमिकता दिन सरकारसँग आग्रह गर्दै सुरुङभित्र पावर हाउससमेत रहेकाले त्यहाँ मानिस जीवित हुन सक्ने सम्भावना रहेको कारण टनेलमा मात्र प्रवेश गरेर नभई पावर हाउससम्म पुगेर खोजी गर्नुपर्ने बताए।
‘सुरुङभित्र फसेका मानिसहरू अझै जीवित हुन सक्छन्। त्यसैले विज्ञ र प्राविधिक जनशक्ति प्रयोग गरेर पावर हाउससम्म पुग्ने गरी उद्धार अघि बढाउनुपर्छ,’ उनले भने।
उनले हेलिकोप्टरबाट मात्रै नागरिकको आवतजावत सम्भव नहुने भएकाले पुल, ट्रस ब्रिज तथा सडकमार्ग पुनःनिर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।
त्यस्तैगरी बाढीबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन र राहत वितरणमा पारदर्शिता कायम गर्नु अर्को ठूलो चुनौती रहेको उनले बताए। राहत कहाँबाट आयो र कसलाई कति वितरण भयो भन्ने विवरण पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए।
शाहीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको विपद्का विषयमा संसद् एक भएर अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग गर्नुपर्ने बताए । नेपालले कार्बन उत्सर्जनमा ठूलो योगदान नगरे पनि अन्य मुलुकको उत्सर्जनका कारण विपद्को असर भोग्नुपरेको भन्दै क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा दाबी गर्नुपर्ने उनले बताए।
उनले देश तथा विदेशमा रहेका नेपालीले बाढी प्रभावितका लागि गरिरहेको सहयोगप्रति धन्यवाद दिँदै आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरे।
‘अहिले को प्रतिपक्ष, को सत्तापक्ष र कसको राजनीतिक मुद्दा भन्ने विषय होइन। हामी सबै एक ठाउँमा उभिने बेला हो,’ शाहीले भने, ‘जसले जहाँबाट जे सहयोग गर्न सकिन्छ गरौँ, सत्य सूचना सम्प्रेषण गरौँ र उद्धारमा सबै एकजुट बनौँ।’
प्रकाशित: १६ भाद्र २०८३ १८:३५ मंगलबार