विपक्षी दलहरूले भोटेकोशी बाढीपछि राहत र उद्धार कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बिहीबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पूर्ण रूपमा जनताको राहत तथा उद्धारमा केन्द्रित हुने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बताइन्।
यस्तै, सरकारी राहत–उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उनले जनाइन्।
यस्तै, उनले सरकारबाट भएको कमीकमजोरीबारे प्रश्न उठाउने बताइन्। ‘काम गर्ने सिलसिलामा केही कमीकमजोरी रहे। सुरुमै अलिकति राम्रो सल्लाह गरेर जान पाएको भए ती कमीकमजोरी रहन्थेनन् होला। अलि बेसी नागरिकहरूलाई बचाउन सकिन्थ्यो होला’, उनले भनिन्।
उनले सरकार अब नागरिकको पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने बताइन्।
यस्तै, कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बैठकमा विशेष संसदीय विशेष समिति गठनको बारेमा छलफल भएको बताइन्।
उनले भोटेकोशी बाढीमा सरकारको तर्फबाट केहि कमजोरी रहेको औल्याइन्। उनले भनिन् ‘सरकारले मात्रै नभएर प्रदेश र स्थानीय सरकारले पनि काम गरिराख्नुभएका छ। तर पनि हामीले चाहेको भए धेरै गर्न सक्थ्यौँ। सबैसँग सरसल्लाह लिएर अगाडि बढ्न सक्थ्यौँ।’
यस्तै, नेकपाका सांसद प्रेमश हमालले पनि सरकारको कामलाई सचेत ढंगले अनुगमन गर्ने र आवश्यक सुझाव दिने बताए।
प्रकाशित: २५ भाद्र २०८३ १३:४२ बिहीबार