राजनीति

कालीकोटमा उम्मेदवारसँग खुला बहस हुने

कालीकोटमा उम्मेदवारसँग खुला बहस हुने भएको छ। कालीकोटको समग्र विकास, सुशासन, लोकतान्त्रिक अभ्यास तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कर्णाली जेन-जी समूहको आयोजनामा भोलि (शुक्रबार) कालीकोट समृद्ध अन्तरसंवाद कार्यक्रम हुन लागेको हो।

बिहीबार पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश जेन-जी संयोजक सुप्रिय राज्यलक्ष्मी शाहीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूसँग खुला अन्तरसंवाद गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

कालीकोटलाई समृद्ध बनाउने विषयमा उम्मेदवारहरूको एजेण्डा, योजना र प्रतिबद्धता सार्वजनिक बहसका माध्यमबाट नागरिकसमक्ष ल्याउने उद्देश्य रहेको उनको भनाइ छ।

आयोजकका अनुसार कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, महिला तथा युवाको भूमिका, सुशासन तथा कर्णाली र कालीकोटको दीर्घकालीन समृद्धिसँग सम्बन्धित विषयमा खुला छलफल गरिनेछ।

प्रकाशित: १४ फाल्गुन २०८२ १९:१४ बिहीबार