सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको क्षमता र पत्रकारिताको विश्वसनीयतालाई सँगसँगै अघि बढाउन सक्ने सञ्चार संस्था नै भविष्यमा सफल हुने बताएका छन्।
सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन्।
उनले कृत्रिम रूपमा सिर्जना गरिएका सामग्री र डीपफेक प्रविधिले झुटो सूचनालाई समेत वास्तविकजस्तो देखाउन सक्ने अवस्था सिर्जना भएकाले अहिले सञ्चार माध्यामका लागि सबैभन्दा महत्वपूर्ण सम्पत्ति नागरिकको विश्वास भएको बताए।
नेपाल दक्षिण एसियामा स्वतन्त्र सामुदायिक रेडियो स्थापना गर्ने पहिलो देश भएको र रेडियो सगरमाथाबाट सुरु भएको सामुदायिक रेडियोको यात्रा अहिले देशभर फैलिएको उनले जिकिर गरे। सामुदायिक रेडियोले हिमाल, पहाड र तराईका विभिन्न समुदायलाई जोड्नुका साथै सार्वजनिक बहसमा आउन नसकेका नागरिकका आवाजलाई समेत स्थान दिएको उनको भनाइ थियो।
विपद्, संकट र स्वास्थ्य आपत्काल जस्ता समयमा सामुदायिक रेडियोले स्थानीय भाषामा तत्काल र विश्वसनीय सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे। भूकम्प, बाढी, पहिरो तथा महामारीलगायतका संकटमा सूचना, जनचेतना तथा उद्धार र राहतसम्बन्धी जानकारी पुर्याउन सामुदायिक रेडियो प्रभावकारी माध्यम बनेको उनले बताए।
डिजिटल रूपान्तरणको अर्थ नयाँ प्रविधि प्रयोग गर्नु मात्र नभई विश्वसनीयता, पत्रकारिताको व्यावसायिकता, तथ्य जाँच, सार्वजनिक उत्तरदायित्व र नागरिकको विश्वासलाई बलियो बनाउनु पनि भएको सञ्चारमन्त्री तिमिल्सिनाले उल्लेख गरे। गलत सूचना, भ्रामक सामग्री र एआईबाट सिर्जित सामग्रीका कारण जोखिम बढिरहेका बेला सार्वजनिक सेवा प्रसारणले आफूलाई नागरिकले सही सूचना विश्वास गर्न सक्ने संस्थाका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले नेपालको सार्वजनिक सेवा प्रसारणलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा पनि जोड दिए। युवाले प्रयोग गर्ने डिजिटल माध्यममा गुणस्तरीय सामग्री उत्पादन गर्नुका साथै उनीहरूको आवाज, विचार र सिर्जनशीलतालाई सार्वजनिक प्रसारणमा समेट्नुपर्ने उनले बताए।
त्यस्तै, ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र विभिन्न भाषाभाषी नागरिकलाई समान रूपमा समेट्नु सार्वजनिक सेवा प्रसारणको महत्वपूर्ण जिम्मेवारी भएको उनले उल्लेख गरे।
प्रकाशित: ९ भाद्र २०८३ १४:०० मंगलबार



