नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी युवाका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत गत वर्षको घटनालाई सम्झिँदै उनले यस्तो बताएका हुन्। जेनजी आन्दोलनका क्रममा युवाले उठाएका भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाह सहज बनाउनुपर्ने र सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने माग जायज रहेको पोखरेलले बताएका छन्। यी माग सबैको साझा सरोकारका विषय भएको उनको भनाइ छ।
महासचिव पोखरेलका अनुसार सरकारले त्यतिबेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको, बरु नेपालमा दर्ता हुने व्यवस्था गर्दै नियमनलाई सहज बनाउन खोजेको जिकिर गरेका छन्। तर सरकारले यस विषयमा स्पष्ट पार्न नसक्दा सामाजिक सञ्जालमा अभ्यस्त नयाँ पुस्ता सडकमा आएको उनको भनाइ छ।
शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखि नै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको कुरा स्पष्ट भइसकेको पोखरेलले दाबी गरेका छन्। उनले प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। वर्तमान सरकार जेनजी आन्दोलनको भावनाअनुसार नभई त्यसलाई हाइज्याक गर्नेहरूको योजना र प्रभावमा चलेको पोखरेलको आरोप छ।
साथै, नेकपा एमाले युवाको भावनाको सम्मान गर्दै जायज माग सम्बोधन गर्न प्रतिबद्ध रहेको पोखरेलले बताएका छन्। उनले हिजो पनि एमाले युवाको पक्षमा रहेको, आज पनि रहेको र भोलि पनि रहने बताएका छन्। विगतमा युवाको भावना र माग सम्बोधनमा कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
हेर्नुस् उनको फेसबुक स्टाटस
आज भाद्र २३ गते-गत वर्ष 'जेनजी आन्दोलन'का क्रममा भएको घुसपैठ र संसद् भवनभित्र प्रवेश गर्ने क्रममा भएको झडपमा दर्जनौँ युवाहरूले ज्यान गुमाएका र सयौँ घाइते भएका थिए। उक्त दुःखद घटनाको एक वर्ष पूरा भएको छ। उक्त घटनामा जीवन गुमाउने सबै नवयुवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उक्त आन्दोलनका घाइतेहरू र आफ्ना सन्तान गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दछु ।
'जेनजी आन्दोलन'का क्रममा नव युवाहरूले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाहलाई सुलभ बनाउनुपर्ने र सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने मागहरू अत्यन्त जायज थिए। यी मागहरू हामी सबैको साझा सरोकारका विषय हुन् ।
नेपाल सरकारले त्यति वेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थिएन, बल्की यसलाई नियमन गर्न सहज बनाउने गरी नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको थियो। तर सरकारले उक्त कुरालाई स्पष्ट गर्न नसक्दा सामाजिक सञ्जालमा अभ्यस्त बनेको नयाँ पुस्ता सडकमा आउन पुग्यो ।
नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सुरु देखिनै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको थियो भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको छ। शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नै 'जेनजी आन्दोलन'को वास्तविक भावनाको सम्मान गर्नु हो।
वर्तमान सरकार जेनजी आन्दोलनको भावना अनुसार नभई, त्यसलाई हाइज्याक गर्नेहरूको योजना र प्रभावमा चलेको स्पष्ट भइसकेको छ। यस्तो संवेदनशील अवस्थामा:
⚬ नव युवाहरूको वास्तविक भावनाको कदर गर्नु,
⚬ मुलुकमा सुशासनको प्रत्याभूति दिनु, र
⚬ विधिको शासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता हो।
नेकपा (एमाले) नवयुवाहरूको भावनाको सम्मान गर्न र जायज मागहरूलाई नवयुवाहरूसँग मिलेर सम्बोधन गर्न प्रतिबद्ध छ।
नेकपा(एमाले) हिजो पनि नवयुवाहरूको पक्षमा थियो, आज पनि छ र भोली पनि रहने छ । हिजो नव युवाहरूको भावना र मागको सम्बोधनमा केही कमजोरी रहन गएको भए त्यसमा सुधार गर्दै अघि बढ्न नेकपा(एमाले) प्रतिबद्ध छ ।
प्रकाशित: २३ भाद्र २०८३ ०९:३२ मंगलबार