प्रधान सेनापति अशोकराज सिग्देलले जेन-जी आन्दोलन उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक समाधानका लागि राजीनामा दिन वा परिस्थिति नियन्त्रणका लागि संवैधानिक रूपमा सेना परिचालन गर्न सुझाव दिएको बताएका छन्।
भदौ २३ गतेको आन्दोलनपछि भोलिपल्ट बिहान प्रधानमन्त्री निवासमा भएको छलफलमा आफूले यस्तो सुझाव दिएको उनले जाँचबुझ आयोगसमक्ष बताएका हुन्।
जनआस्था साप्ताहकमार्फत सार्वजनिक भएको आयोगको प्रतिवेदनअनुसार सिग्देलले प्रधानमन्त्रीले सुझाव मागेपछि दुईवटा विकल्प प्रस्तुत गरेको दाबी गरे।
पहिलो विकल्पका रूपमा थप मानवीय क्षति रोक्न राजनीतिक समाधानतर्फ जानु उपयुक्त हुने र त्यसका लागि राजीनामा दिन उनले सुझाव दिए।
दोस्रो विकल्पमा यदि मन्त्रिपरिषद्ले संवैधानिक रूपमा सिफारिस गरेमा परिस्थिति नियन्त्रणमा लिन नेपाली सेना पूर्ण रूपमा तयार रहेको जानकारी गराएको उनको बयानमा उल्लेख छ।
प्रधान सेनापति सिग्देलले सेना स्वतः सडकमा उत्रिन नमिल्ने कानुनी बाध्यता रहेकाे बताएका छन्।
‘नेपाली सेना स्वतः सडकमा उत्रने संस्था होइन, संवैधानिक तथा कानुनी प्रक्रिया पूरा भई नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिको निर्णयबाट मात्र परिचालन हुने व्यवस्था रहेको छ,’ उनले बयानमा भनेका छन्।
उनका अनुसार भदौ २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आन्दोलन व्यापक हुन सक्ने सूचना राष्ट्रिय अनुसन्धान विभागलगायतबाट प्राप्त भएको थियो। तर, भदौ २४ गतेसम्म राष्ट्रिय सुरक्षा परिषद्को औपचारिक बैठक नबसेकाले रणनीतिक छलफल हुन नसकेको उनले बताएका छन्।
बैठक बस्ने बेलासम्म तत्कालीन गृहमन्त्रीले राजीनामा दिइसकेको, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटिसकेको र आन्दोलनकारीका माग सम्बोधन हुने आँकलन गरिएकाले भदौ २४ मा त्यस्तो विषम परिस्थिति आउला भन्ने ठोस अनुमान नगरिएको उनको भनाइ छ। सोही कारण सेना परिचालनबारे कुनै निर्णय नभएको उनले दाबी गरेका छन्।
उनले सिंहदरबार, राष्ट्रपति र प्रधानमन्त्री निवासका मुख्य संरचना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थल, इन्धन डिपो र कारागारजस्ता अति संवेदनशील संरचना जोगाउन सेनाले अग्रसर भूमिका खेलेको बताएका छन्।
सेनाकै दमकल प्रयोग गरेर सिंहदरबारस्थित राष्ट्रिय डाटा सेन्टर र अर्थ मन्त्रालयको डाटा सेन्टरको आगो नियन्त्रणमा लिइएको उनले बताए।
यी सबै कार्यमा मानवीय क्षति न्यून राख्न सेनाले अत्यन्त संयमता अपनाएको सिग्देलले बताएका छन्।
प्रकाशित: ११ चैत्र २०८२ १७:३६ बुधबार