राजनीति

ओलीलाई विद्याले भनिन्: म अघि बढे, तपाईं आफ्नो निर्णय गर्नुस्

विद्याका तीन प्रश्नः ओलीको ठट्यौली जवाफ

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबिच झन्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको छ।

वार्तामा भण्डारीले आफू अगाडी बढिसकेकाले नियमित पार्टी कार्यालय आउने र नेता कार्यकर्तासँग भेटघाट गर्ने बताइएकी थिइन।

उनले आफू अघि बढिसकेको र नरोकिने बताउँदै कसैको केही इच्छा भए सोही अनुसार आफू पनि तयार रहेको जानकारी दिइन।

ओलीलाई भेटेर आएपछि आइतबार साँझ पार्टीका शुभेच्छुकहरूसँगको कुराकानीमा सो कुरा बताएकी थिइन।

‘म अघि बढेको जानकारी दिए, अरूको केही इच्छा भए सोही अनुरूप कुरा हुने तर कुनै पनि हालतमा आफू पछि नहट्ने जानकारी दिएको छु’, विद्याको भनाई उद्धृत गर्दै एक नेतालेभने।

जवाफमा ओलीले ‘तपाइलाई पार्टी कार्यालयमा स्वागत छ’ भनेका थिए। यसमा ओलीले दोहोरो कुरा गर्न चाहेका थिएनन्।

‘पार्टी कार्यालय आउँछु भन्दा ओलीले नाइँ भन्ने कुरा पनि भएन, हाँसेर स्वागत छ भन्नु भयो’, भण्डारीले भनिन।

पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आइतबार एमाले कार्यालय च्यासलमा ओली र भण्डारीबिच झन्डै दुई घण्टा छलफल हुँदा भण्डारीले सदस्यताको विषय किन उठाइएको भन्दै अर्को प्रश्न गरेकी थिइन।

उनले दुई वर्ष अघि जानकारी दिएर नवीकरण गराएकी हुँ, भन्दै यसबारेमा पार्टी भित्र कसरी छलफलको विषय बन्यो भन्दै प्रश्न गरेकी थिइन।

मैले तपाई (केपी ओली) लाई जानकारी दिएर काशीनाथ अधिकारीजीलाई फोन गरेर डा. भेषराज अधिकारीलाई सदस्यता नवीकरणका लागि पठाएको थिए, सदस्यता नवीकरण पनि भयो, अहिले यो विषयलाई कसरी उठाइयो भन्ने जवाफमा ओलीले विशिष्ट व्यक्ति भएका कारण पार्टीमा छलफल गर्नु परेको बताएकी थिइन।

‘पूर्व राष्ट्रपति हुनुभएकै कारण छलफल गर्नु परेको हो, यसमा अन्यथा छैन, सदस्यता समस्या होइन भन्ने जवाफ दिएका थिए।

‘उहाँले समस्या छैन भन्नु भयो, यसमा अन्यथा छैन भन्नु भयो’,भण्डारीको भनाई उद्धृत गर्दै ती नेताले बताए।

यसमा ओलीले बढी नै मिडिया ट्रायल गर्न खोज्नु भएको देखिएको भन्दै भण्डारीले गुनासो गरेकी थिइन।

भेटपछि पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद मात्रै भएको बताउँदै पार्टीमा सक्रिय भएपछि स्वाभाविक रुपमा नेता कार्यकर्तासँग भेटघाट हुने र देशव्यापी आफ्नो गतिविधि सञ्चालन हुने हलुका जानकारी पनि दिएकी थिइन।

उनले पार्टी बलियो बनाउन आफ्नो चाहना रहेको बताउँदै पार्टी अध्यक्षको खिलाफमा आफू पार्टीका सक्रिय नभएको स्पष्ट पारेकी थिइन।

‘पार्टीभित्र व्यक्ति विशेषका विषयहरू पनि उठेका छन् अत्यन्तै अलोकप्रिय भनाइहरू आएको छन् यसलाई कसरी सच्याउने हो यसमा पार्टी नेतृत्व जिम्मेवार बन्नुपर्छ पार्टी कमजोर बन्नु हुँदैन, म अघि बढिसकेको छु तपाईँले आफ्नो निर्णय गर्ने बेला आयो,’ भण्डारीको भनाई थियो।

पार्टी कार्यालयमा भण्डारीलाई पार्टी सदस्यता नवीकरणका विषयमा सञ्चारकर्मीले सोधको प्रश्नमा भण्डारीले सदस्यता नवीकरणका विषय पुरानो भइसकेको र पहिल्यै नवीकरण गरेको जिकिर गरेकी थिइन।

ओलीले शनिवार मात्रै पोलिट्व्यूरा बैठकमा पार्टी सदस्यता परित्याग गरेकाले नयाँ सदस्यता लिनुपर्ने बताएका थिए।

पूर्व राष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमाले सचिवालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो।

यसैबिच एमाले नेताहरूले पार्टीमा भण्डारीको जिम्मेवारी छिट्टै टुङ्गिने बताएका छन्। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको छलफलबाट पूर्व राष्ट्रपति भण्डारीको जिम्मेवारी टुंगो लाग्ने बताए।

पार्टी बैठकले गरेको निर्णय अनुसार भण्डारी र ओलीबिच भेटवार्ता भएको उनले जानकारी दिए। त्यस्तै एमाले नेता कर्ण थापाले दुई जनाबिच भएको भेटवार्ता निकै सकारात्मक भएको बताए।

विधान अधिवेशनको तयारीमा रहेको एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि सुरु हुँदै छ।

केन्द्रीय कमिटीको बैठकमा समेत पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा छलफल हुने नेताहरूले जनाएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार भण्डारीसँग ’वान टु वान’ छलफल गरेको विषय मन्त्रिपरिषद्को बैठकमा पनि उठेको थियो।

प्रकाशित: ४ श्रावण २०८२ २३:२३ आइतबार