नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले कुनै पनि अवस्थामा निर्वाचनमा सहभागी हुने स्पष्ट पारेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले आज चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै शान्तिसुरक्षाको अवस्था मजबुत हुनुपर्नेमा जोड दिए।
‘शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,’ उनले भने, ‘हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ।’ निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्ने उनको आग्रह थियो।
आजै काठमाडौंबाट चन्द्रगढी विमानस्थल पुगेका अध्यक्ष ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीलगायत नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुने छ। अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गर्न झापा आएको जिल्ला अध्यक्ष गिरीले जानकारी दिए।
निर्वाचनलाई लक्षित गर्दै पार्टीले आयोजना गर्ने कार्यकर्ता भेला तथा बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। जेनजी आन्दोलनका कारण गत भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली पहिलोपटक गृहजिल्ला झापा आएका हुन्।
प्रकाशित: ५ माघ २०८२ १५:५५ सोमबार