राजनीति

सरकारलाई ओलीको चेतावनी– सके निर्वाचनको तयारी गर, नसके बाटो लाग

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई तत्काल निर्वाचनको वातावरण बनाउन वा सत्ता छोड्न चेतावनी दिएका छन्।

बिहीबार एमालेको एघारौं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यस्तो चेतावनी दिएका हुन्।

सरकारले देशलाई अस्थिरतातर्फ धकेलिरहेको आरोप लगाउँदै ओलीले भने, ‘सकेदेखि निर्वाचनको तयारी गर, सक्दैनौ भने बाटो लाग। अनेक प्रकारका तमासा गरेर देशलाई बर्बादीतिर धकेल्न पाइँदैन।’

अध्यक्ष ओलीले सरकारले प्रहरी प्रशासनमाथि अनुचित र गैरकानुनी दबाब सिर्जना गरेको आरोप लगाए। उनले अवकाश पाए लगत्तै सुरक्षा निकायका उच्च अधिकारीलाई अपमानित गरिएको भन्दै आक्रोश पोखे।

‘जागिरबाट हट्ने बित्तिकै पासपोर्ट रोक्का गर्ने ? के ठानेको ? के दिमाग हो त्यो ?,’ ओलीले सरकारलाई प्रश्न गरे, ‘प्रहरी महानिरीक्षकलाई अवकाश पाएको एक घण्टा नहुँदै काठमाडौं छोड्न नपाउने ?’

सम्बोधनका क्रममा ओलीले सरकारले हालै जेन-जी समूहसँग गरेको सम्झौता भद्दा नाटक भएको बताए। उनले संविधान संशोधनको अधिकार संसद् र दलहरूसँग हुने भन्दै सरकारले अनाधिकृत रूपमा सडकमा सम्झौता गरेको टिप्पणी गरे।

‘केही युवालाई बोलायो, कागज दियो, सम्झौताको नाटक गर्‍यो। यति भद्दा नाटक पनि हामी बुझ्दैनौँ ?,’ ओलीले भने, ‘यो सम्झौता होइन, नाटक हो। एमाले यो सम्झौतालाई सोझै अस्वीकार गर्छ, खारेज गर्छ। यो देश भाँड्ने कुरा हो, लागु हुन दिँदैनौँ।’

साथै, अध्यक्ष ओलीले मुलुकको पछिल्लो परिस्थितिलाई लिएर अन्य राजनीतिक दलहरू पनि गम्भीर हुनुपर्ने भन्दै लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान समेत गरे।

प्रकाशित: ३ पुस २०८२ २०:०८ बिहीबार