नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यदि चुनाव नै गर्ने हो भने वातावरण बनाएर देखाउन प्रधानमन्त्री सुशीला कार्कीलाई चुनौती दिएका छन्। शुक्रबार एमालेको युथ भोलिन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउनै नसक्ने भन्दै यस्तो चुनौती दिएका हुन्।
‘प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु। तपाईँ अहिले भएका कानुनहरुबाट चुनाव गराउने हो भने खुरुखुरु गराउनुस् न त,’ ओलीले भने, ‘शान्तिपूर्ण वातावरण बनाउनुस्, हतियार फिर्ता ल्याउनुस्। अपराधीहरुलाई नियन्त्रण गर्नुस्, निर्वाचन योग्य वातावरण बनाउनुस्, म यसको व्याख्या गरिरहन चाहन्न। गराउनुस् न त।’ तर यो सरकारले नसक्ने ओलीले दाबी गरे। ‘तपाईँको मनशाय पनि देखिदैन,’ उनले भने।
प्रधानमन्त्रीले दलसँग गरेका वार्ता पनि नाटक मात्रै भइरहेको अध्यक्ष ओलीले बताए। ‘तपाईँले गरेका वार्ता कस्ता छन्? १२५ वटा पार्टी बोलाएर वार्ता गरेको अरे! १२५ वटा पार्टीको कहिले वार्ता,’ उनले भने, ‘यो एमाले, कांग्रेसजस्ता पार्टीहरुलाई अपमान गरेको हो, १२५ वटा पार्टीसँग वार्ता गरेको नाटक गरेर। तमासा गरेर।’ तर त्यो तमासा हेर्न पनि आफूहरु गइरहेको ओलीले टिप्पणी गरे। ‘यो तमासा हो, तर हामी त्यो तमासा हेर्न पनि गइरहेका छौँ। आफ्ना कुरा पनि भनिरहेका छौँ,’ उनले भने।
यस्तो तमासा नगरेर देशलाई माया गर्न सिक्न उनले प्रधानमन्त्री कार्कीलाई आग्रह गरे। उनले भने, ‘देशलाई माया गर्न सिकौँ। म सुशीला जीलाई भन्न चाहन्छु–देशलाई अरु अनिश्चितता तिर, अरु अशान्ति, अरु अराजकता र बर्बादीतिर लैजान नदिऊँ।’ त्यसका लागि प्रतिनिधिसभाको अविलम्ब पुनस्र्थापना गरेर त्यहाँबाट समाधान खोज्नुपर्ने उनले बताए।
प्रकाशित: ५ मंसिर २०८२ १५:१५ शुक्रबार