राजनीति

टिकट नपाएर पार्टी छोड्नेलाई ओलीले भने- चिनेरै नदिएको ठीक भएछ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पद र टिकटको लोभमा पार्टी छोड्नेहरूबाट एमाले कमजोर नहुने बताएका छन्।

ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले टिकट नपाउँदैमा पार्टी छोड्नेहरू अवसरवादी भएको टिप्पणी गरे।

अध्यक्ष ओलीले ओखलढुंगामा एमालेको जित सुनिश्चित रहेको दाबी गर्दै टिकट नपाएको झोकमा पार्टी परित्याग गर्नेहरूले आफ्नो वास्तविक चरित्र देखाएको बताए।

ओलीले पार्टी छोड्नेहरूलाई एमालेको विचार र संगठनभन्दा पनि व्यक्तिगत पद चाहिएको रहेछ भन्ने पुष्टि भएको जिकिर गरे।

‘उनीहरूलाई पार्टी चाहिएको रहेनछ, व्यक्ति चाहिएको रहेछ,’ ओलीले थपे, ‘अहिले त केही दिएर पार्टीमा टिकाउनुहुन्थ्यो होला, अर्का पल्ट नदिएका बेला उही हो। अलिक माथि पुर्‍याउनुस्, अलिक बलियो बनाउनुस्, अलिक प्रभावशाली बनाउनुस्, नपाउने बित्तिकै फेरि पार्टी छोड्दिन्छन्।’

विद्रोही उम्मेदवार र पार्टी छोड्नेहरू यसपटक टिकट नदिनु नै सही निर्णय भएको उनको तर्क गरे।

‘कस्तो चिनिएछ भने यसपल्ट, चिनेरै नदिएको ठीकै भएछ। यसपल्ट दिएको भए झन् भड्खालो हुन्थ्यो, हामी सबैले बोकेर हिँड्थ्यौँ,’ उनले भने, ‘अर्को पल्ट पाइन्न भनेपछि फेरि छोड्थे। पार्टीलाई त झन् ठुलो धोका हुन्थ्यो।’

कार्यक्रममा बोल्दै ओलीले ओखलढुंगाबाट प्रदेश सभाका लागि उम्मेदवार बनेकी युवा नेत्री अस्मिता थापा र अन्य उम्मेदवारहरूलाई विजयको शुभकामना दिए। उनले पुराना अनुहारले मात्र सधैं अवसर पाउनुपर्छ भन्ने नरहेको भन्दै युवाहरूलाई अगाडि बढाइएको बताए।

अध्यक्ष ओलीले एमालेको उद्देश्य र गन्तव्य सही रहेको भन्दै स्वार्थ पूरा नहुँदैमा पार्टी गलत नहुने बताए।

उनले ओखलढुंगामा एमालेको जित सुनिश्चित रहेको भन्दै सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय रहन निर्देशन समेत दिए।

प्रकाशित: १७ माघ २०८२ १६:३६ शनिबार