राजनीति

कठपुतली र असंवैधानिक सरकारले देश बर्बाद गर्दैछ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘कठपुतली’ र ‘असंवैधानिक’ सरकारको संज्ञा दिएका छन्।

वर्तमान सरकारले देशलाई गलत दिशातर्फ लगिरहेको बताउँदै उनले यस्तो संज्ञा दिएका हुन्। ओलीले कृत्रिम र अनधिकृत ढंगले सरकार गठन गरी चुनावको नाममा नाटक गरिएको र प्रतिनिधि सभाको कार्यकाल बाँकी हुँदाहुँदै संसद् विघटन गरेर अर्को संसद् खोज्नुको उद्देश्य आफ्नै अनुकूलको संसद् बनाउनु रहेको बताए। अनुभव नभएका व्यक्तिलाई जिम्मेवारी दिँदा सरकार सञ्चालनमा समस्या देखिएको बताउँदै उनले कामको अनुभव र सीप आवश्यक पर्ने बताए। 

‘नयाँले गर्नुपर्छ, पुरानाले हुँदैन’ भन्ने नाममा अनुभवीलाई पन्छाएर अनुभव नभएकालाई जिम्मेवारी दिँदा देशमा समस्या बढेको उनको भनाइ छ। 

साथै अहिलेका जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाउँदै उनीहरूको क्षमता र अनुभवबारे सोच्नुपर्ने र संविधानलाई सही बाटोमा फर्काउनुपर्ने आवश्यकता बढेको बताए। 

ओलीले संविधान मिचिएको भन्दै संविधानको रक्षा र लोकतान्त्रिक प्रक्रियालाई सही दिशामा ल्याउने जिम्मेवारी आफूहरूको भएको बताउँदै प्रतिनिधिसभा विघटन गरी असंवैधानिक सरकारले चुनावको नाममा नाटक गरेको बताए। 

उनले आफूहरूमाथि राजनीतिक रूपमा नियन्त्रण गर्ने प्रयास भए पनि त्यसलाई स्वीकार नगरी अगाडि बढेको बताए।

प्रकाशित: ३१ श्रावण २०८३ ११:२४ आइतबार