राजनीति

ओलीले भने- निर्वाचन परिणाम अनपेक्षित, अस्वाभाविक र जादुमय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम अनपेक्षित, अस्वाभाविक र जादुमय भएको टिप्पणी गरेका छन्।

बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्यको पक्षमा उभिएको एमालेविरुद्ध विरोधीहरूले घृणाको राजनीति गरेको आरोप लगाएका हुन्।

ओलीले महाभारत युद्धको दृष्टान्त दिँदै एमालेलाई पाण्डव र विरोधी गठबन्धनलाई कौरव सेनासँग तुलना गरे। ‘कौरवको सेना विशाल थियो, तर पाण्डवको सेना थोरै भए पनि नतिजा सत्यको पक्षमा आयो,’ ओलीले भने, ‘हामी देश, जनता र सत्यको पक्षमा छौं, जित अन्ततः सत्यकै हुन्छ।’

अध्यक्ष ओलीले एमाले देशको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, सुशासन र विकासका लागि निरन्तर काम गरिरहेको दाबी गरे।

तर, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य नरुचाउने र राष्ट्रिय हितको विपक्षमा रहेका शक्तिहरूले एमालेविरुद्ध घेराबन्दी गरेको उनको भनाइ थियो।

देशमा शान्ति, सुव्यवस्था र न्यायपूर्ण समाज स्थापना गर्न नचाहनेहरूले समाजमा घृणा फैलाएको ओलीले जिकिर गरे।

‘राष्ट्रिय गौरवलाई माथि उठाउने र झण्डालाई उँचो राख्ने हाम्रो अभियानलाई कमजोर पार्न विरोधीहरूले घृणाको राजनीति गरे,’ उनले भने, ‘यस कार्यमा उनीहरूलाई धेरैतिरबाट सहयोगसमेत प्राप्त भयो।’

संसद्‌मा एमालेको उपस्थिति संख्यात्मक रूपमा केही कम भए पनि राष्ट्रिय गौरव र हितका पक्षमा पार्टीले कहिल्यै सम्झौता नगर्ने उनले नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए।

प्रकाशित: १२ चैत्र २०८२ १६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App