राजनीति

रुसी टिभीमा ओलीले भने : जेनजी प्रदर्शन योजनाबद्ध षड्यन्त्र थियो

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत सेप्टेम्बरमा आफूलाई अपदस्थ गर्ने गरी भएको जेनजी विरोध प्रदर्शन असामान्य र योजनाबद्ध तरिकाले गरिएको बताएका छन्।

सोमबार रुसी टेलिभिजन आरटी इन्डियालाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्। दुई दिने हिंसात्मक झडपमा ७७ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी घाइते भएका थिए।

‘त्यो साधारण र सामान्य कुरा थिएन। त्यो असामान्य थियो, र यो अचानक हुन सक्दैन। त्यो योजनाबद्ध तरिकाले आयोजना गरिएको थियो, यो त्यति बेला र पछि पनि देखियो,’ ओलीले अन्तर्वार्तामा भने। उनले श्रीलंका र बांग्लादेशका घटनाले नेपालमा पनि यस्ता विरोध प्रदर्शन हुन सक्छन् भनेर चेतावनी दिएको कुरा पनि उल्लेख गरेका छन्।

उनले नेपालको वर्तमान अवस्था चुनाव गराउन अनुकूल नभएको तर्क पनि गरेका छन्। गत वर्ष ओली अपदस्थ भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ। आगामी ५ मार्चमा निर्वाचन मिति तय भएको छ।

प्रकाशित: २ माघ २०८२ ०९:१५ शुक्रबार