राजनीति

बालेन आए ओलीको मतान्तर थप बढ्ने छ : अध्यक्ष गिरी

नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा–५ बाट केपी शर्मा ओली झनै धेरै मत ल्याएर चुनाव जित्ने बताएका छन्। अध्यक्ष गिरीले बालेन शाह झापा आउने चर्चाका बीच यस्तो धारणा व्यक्त गरेका हुन्।

पार्टी अध्यक्ष ओलीको नाम झापा–५ बाट एकल सिफारिस भएको जानकारी दिँदै गिरीले बालेन आए एमालेले मतान्तर थप बढाउने जानकारी दिए। सञ्चारकर्मीसँग कुरा गर्दै झापा–५ मा बालेन आउनुले एमालेलाई केही पनि फरक नपर्ने गिरीको भनाइ छ। 'पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन, हामीले जनताको काम गरेका छौं,' उनले भने, 'बालेन झापाबाट उम्मेदवार बन्नेमा विश्वास छैन, आइहाले फरक पनि पर्ने छैन।'  

अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृष्य शक्तिले जबरजस्ती मिलाएको दाबी गरेका छन्। 'कुलमानजी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्वीकार्न सक्दैन,' उनी भन्छन्, 'रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनायो। क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन्।'

बालेनलाई अदृष्य शक्तिहरूले नै प्रधानमन्त्री घोषणा गरेको बताउँदै गिरीले उक्त घोषणा रास्वपालाई मन नपरेको प्रतिक्रिया दिए। 'रास्वपा निर्माण गर्न रवि लामिछाने र अन्य नेता कार्यकर्ताले दु:ख गरे, प्रधानमन्त्री अर्को मान्छे बनाउने भन्दा मान्ने अवस्था छैन,' उनले थपे। परिस्थितिजन्य बाध्यताका कारण रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको गिरीको भनाइ छ।  

पूर्वप्रधानमन्त्री ओलीलाई अप्ठ्यारो बनाउन सकिन्छ कि भनेर बालेन फण्डा गरिएको हुन सक्ने उनको भनाइ छ। एमाले आफ्नो संगठनको बलमा निर्वाचन लड्ने बताउँदै उनले झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीले अत्यधिक मतका साथ विजयी हुने बताए।  

विकास निर्माणको कामप्रति क्षेत्रका जनता सन्तुष्ट रहेको र बालेन टुरिस्ट उम्मेदवार हुँदा ओलीलाई निर्वाचन जित्न धेरै सजिलो हुने नेता गिरीको भनाइ छ। सडक, पुलसहित पूर्वाधार विकासमा कायापलट गरेका कारण जनताको एमालेलाई हुनेमा विश्वास व्यक्त गरे।  

अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए। गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तर निर्वाचित बनेका थिए। एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए। अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए।

प्रकाशित: ४ माघ २०८२ ०६:५३ आइतबार