राजनीति

ओलीको बयान: दोषी उम्किनु हुँदैन, मेरो कुनै दोष छैन

जेन-जी आन्दोलनबाट अपदस्थ भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपहरूबारे इन्कारी बयान दिएका छन्।

प्रहरी हिरासतमा रहेका ओलीले सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका हुन्। यता, सर्वोच्च अदालतमा उनको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ भइरहेको छ।

अदालतलाई दिएको बयानमा पूर्वप्रधानमन्त्री ओलीले आन्दोलनमा भएको दमनमा आफ्नो कुनै दोष नरहेको दाबी गरेका छन्। प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश नदिने उनको जिकिर छ।

आपतकालीन अवस्थामा सेनासँग सहयोग माग्दा पनि अपेक्षित समन्वय हुन नसकेको र त्यसैको परिणाम स्वरूप आफूले राजीनामा दिनुपर्ने अवस्था आएको उनले सुनाए।

आन्दोलनका क्रममा भीडमा मानिसको मृत्यु भएको खबर सुन्दा आफू नै अचम्मित भएको उनले बताएका छन्। किन र कसरी यस्तो घटना भयो भन्नेमा उनले प्रश्न उठाएका छन्।

भदौ २३ र २४ गतेका घटनाहरू नेपाल राष्ट्रविरुद्धको गम्भीर षड्यन्त्र भएको ओलीले आशंका गरेका छन्। शान्तिपूर्ण भनिएको आन्दोलनमा निषेधाज्ञा किन तोडियो र द्वन्द्व कसरी सिर्जना भयो भन्ने विषयमा सुरुदेखि अन्त्यसम्म निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ।

मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले दोषीलाई उम्काउन नहुने बताए। राज्यको सम्पत्ति जलाउनेदेखि भीडलाई उत्तेजित पार्नेसम्मका गतिविधिमा संलग्न सबैमाथि निष्पक्ष कारबाही हुनुपर्ने उनले माग गरेका छन्।

आफूले सधैँ राष्ट्रको हितमा काम गरेको र त्यही कारण विभिन्न स्वार्थ समूहहरूले आफूमाथि अनावश्यक आरोप लगाएर फसाउन खोजेको उनको दाबी छ।

प्रकाशित: २२ चैत्र २०८२ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App