नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको घटनाबारे बयान लिन पुगेको जाँचबुझ आयोगको टोलीलाई आफूले सार्वजनिक रूपमै धारणा राखिसकेको भन्दै सञ्चारमाध्यमका सामग्री हेर्न सुझाएका छन्।
आइतबार भक्तपुरको गुण्डुस्थित ओली निवासमै पुगेको आयोगका कर्मचारीहरूको टोलीलाई उनले यस्तो जवाफ दिएका हुन्।
यद्यपि, आयोगको टोली प्रश्न लिएर निवासमै आएपछि ओलीले लिखित रूपमा ‘स्टेटमेन्ट’ भने दिए। साथै, आफ्ना सार्वजनिक अभिव्यक्तिलाई पनि आधार मान्न टोलीलाई आग्रह गरेका हुन्।
स्रोतका अनुसार ओलीले आफूले यस घटनाका विषयमा विभिन्न सञ्चारमाध्यम र सार्वजनिक कार्यक्रमहरूमा पनि स्पष्ट धारणा राखिसकेको बताएका थिए।
‘मैले घटनाबारे मिडिया र सार्वजनिक कार्यक्रमहरूमा पनि धेरै कुरा बोलेको छु, त्यहाँबाट जानकारी लिनुहोला ,’ ओलीले कर्मचारी टोलीलाई भनेको भनाइ उद्धृत गर्दै स्रोतले बतायो।
यसअघि ओलीले आयोगको कार्यालयमा गएर बयान नदिने अडान राख्दै आएका थिए। उनको अडानपछि आयोगका कर्मचारीहरू लिखित प्रश्न लिएर आइतबार उनकै निवास पुगेका हुन्।
प्रकाशित: २० पुस २०८२ १९:१८ आइतबार