नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले तमासा देखाइरहेको टिप्पणी गरेका छन्। बिहीबार भक्तपुरको गुन्डुमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
‘उहाँहरू जुलुसमा गएर भाषण गरिरहनुभएको थियो। केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ, कारबाही गर्नुपर्छ,’ ओलीले भने, ‘अहिले रातिराति रातभर मिटिङ गरेर कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ? कसरी नेपाली कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ?’
सबैभन्दा पहिले उनीहरूले एउटा तमासा सडकमा देखाएको उनले बताए। ‘सडक तमासा। त्यो सडक तमासा के हो भने केपी ओली लगायत केही मान्छेको पासपोर्ट रोक्का,’ उनले भने।
यस्तै अर्को तमासा काठमाडौं उपत्यका छाड्न नदिने भन्ने देखाएको पनि ओलीलले टिप्पणी गरे। ‘अर्को तमासा के गर्नुभयो भने काठमाडौंभन्दा बाहिर जान नपाइने। यो तमासा नभए के हो यो?’ उनले प्रश्न गरे।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको डरले आफू नभाग्ने पनि उनले बताए। ‘के लाग्छ सुशीला कार्कीको डरले केपी ओली भाग्छ?’ उनले भने।
आफूले पहिले नै सरकारलाई हाहुको सरकार भनेको बताउँदै उनले यो सरकार नेपालीको नभएको पनि टिप्पणी गरे। उनले भने, ‘मैले पहिला पनि भनेको छु मैले संक्षिप्तमा भनेको छु हाहुको सरकार। यो कसैको सरकार होइन, नेपालीको होइन। अरुको भए थाहा छैन।’
सरकारले खास उद्देश्यले काम गरिरहेको पनि ओलीले दाबी गरे।
प्रकाशित: २३ आश्विन २०८२ १३:४८ बिहीबार