राजनीति

युवालाई ओलीको सुझाव: सभ्य हुनुस्, नेपाल भिसा नपाइने गरी बदनाम भयाे

‘असभ्य र अराजक हुनु युवापन होइन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले देशभक्त र सुसंस्कृत युवा तययार गर्नुपर्ने अवस्था आएको बताएका छन्। मंगलबार गुण्डुस्थित निवासमा भेट्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

‘युवाहरूलाई देशभक्त युवा बनाउनुपर्छ। देशलाई माया गर्ने, जनतालाई माया गर्ने, त्यस्ता युवाहरूको पङ्ति तयार गर्नुपर्छ,’ ओलीले भने, ‘नयाँ पुस्ता देशप्रति अत्यन्त जिम्मेवार, समाजप्रति जिम्मेवार, यस्तो पुस्ता हुनुपर्छ। हामी आफू कर्मठ देश बनाउने नागरिकका रूपमा हुनुपर्छ।’

असभ्य हुनु, अराजक हुनु, गैह्र जिम्मेवार हुनु युवापन नभएको पनि उनले बताए। ‘त्यस कारण साथीहरूलाई हावामा उड्न होइन, आफ्नो कर्तव्य के हो? देशप्रतिको कर्तव्य के हो? समाजप्रतिको कर्तव्य के हो? परिवार, साथीभाइप्रतिको कर्तव्य के हो? जानकार हुनुपर्दछ,’ ओलीले भने। 

युवा पुस्ता सभ्य, सुसंस्कृत हुनुपर्ने पनि उनले बताए। उनले भने,  ‘अहिले भिसा नदिने अवस्थामा पुगिसक्यो, काम नदिने अवस्थामा पुगिसक्यो, नेपाल एउटा बदनाम अवस्थामा पुगिसक्यो। त्यसबाट हामीले जोगाउनुपर्छ।’ 

प्रकाशित: ७ आश्विन २०८२ १८:२२ मंगलबार