नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार असंवैधानिक सरकार भएको बताएका छन्। नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आजदेखि एमालेको बैठक ललितपुरको जावलाखेल भनिमण्डलस्थित पार्टी प्यालेस रामबाघ महलमा सुरु भएको छ।
उनले अन्तर्राष्ट्रिय स्तरमा भएको जेन जी आन्दोलनलाई हतियार बनाएर दुई तिहाइको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गरेको बताएका छन्। उनले केन्द्रीय समितिको बैठकमा बोल्दै संसद् विघटनलाई भदौ २७ को आकस्मिक कदम नभई विगतदेखि नै चल्दै आएको अभ्यास र षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्।
अध्यक्ष ओलीले वर्तमान सरकार अनुचित ढंगबाट बनेको आरोप लगाउँदै पार्टी विभाजनको चुनौती पार गरेर आफूहरू राजनीतिमा पुन: सक्रिय भएको बताए। उनले विश्वमा भइरहेको जेन जी आन्दोलनलाई विरोधीहरूले आफ्नो सरकारविरुद्ध हतियार बनाएको बताए।
उनले ‘संविधान मान्दिन’ भन्नेहरूले नै संवैधानिक व्यवस्थाको लाभ लिँदै त्यसलाई कमजोर बनाउन खोजिएको बताएका छन्।
आन्दोलनपछि राज्य संयन्त्र कमजोर बनेको भन्दै अध्यक्ष ओलीले संविधानमा लागेको चोट र हमलाको तत्काल उपचार गर्नुपर्ने बताएका छन्। उनले देश प्रतिक्रान्तितर्फ गएको भन्दै अब देशलाई लोकतान्त्रिक, जनपक्षीय, सुशासन र भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताएका छन्।
प्रकाशित: २९ आश्विन २०८२ १३:५० बुधबार