नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि संस्थापन पक्ष र इतर पक्षबिच कडा टक्कर हुने देखिएको छ। सोमबार दिनभरि र उम्मेदवारी दर्ताको समय सकिँदासम्म यस्तो संकेत देखिएको हो। पार्टीको आन्तरिक व्यवस्थापन कमजोर हुँदा नेतृत्वमा दुई धार देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले आफ्नै ‘कोर टिम’लाई मनाउन नसक्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको टिम उत्साहित भएको छ।
निर्वाचनको कार्यतालिकाअनुसार मंगलबार मध्याह्न १२ बजेबाट मतदान हुनेछ। जानकारहरूका अनुसार ओली पक्षमा आएको विचलनका कारण निर्वाचन कार्यतालिका प्रभावित हुने सम्भावना छ। ओली पक्षमा असन्तुष्टि पैदा भएपछि उपाध्यक्ष विष्णु पौडलले समन्वयको भूमिका निर्वाह गरिरहेका छन्।
महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएपछि आन्तरिक प्रतिस्पर्धा झन् रोचक हुने देखिएको छ। जनताको बहुदलीय जनवाद (जबज) का व्याख्याता मानिएका पोखरेल र डाटा पुँजीवादका व्याख्याता मानिएका पाण्डेबिच महासचिवमा भिडन्त हुने भएको हो। नवौं महािधवेशनमा ६ मतले महासचिवमा पराजित पाण्डे पार्टीभित्र सुझबुझ भएका नेता मानिन्छन्। नवौं महाधिवेशनमा उपमहासचिवमा पोखरेल पराजित भएका थिए। पछि ओलीले उनलाई महासचिव बनाएका थिए।
उपमहासचिवमा ओली पक्षमा भन्दा पोखरेल पक्षमा रहेका नेताहरू वैचारिक हुनुका साथै कार्यकर्तामाझ भिजेका मानिन्छन्। सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले उपमहाचिवमा उम्मेदवारी दिएपछि ओली पक्षमा रहेका लेखराज भट्ट, रघुवीर महासेठ र विष्णु रिमाललाई अप्ठेरो पर्ने प्रतिनिधिहरूको दाबी छ। सचिवमा पनि पोखरेल पक्षका उम्मेदवारहरू निकै ‘क्लिन’ छन्।
पोखरेल पक्षबाट गोकुल बास्कोटा, रचना खड्का, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, इन्द्रलाल सापकोटा, कर्ण थापा छन्। ओली पक्षबाट भानुभक्त ढकाल, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, डा. राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई, महेश बस्नेत सचिवका उम्मेदवार रहेका छन्। सचिवमा सापकोटा र बस्नेतको एउटै पदमा भेटघाट भएको छ।
ओलीको कोर टिममा आएको विचलनपछि उत्साहित पोखरेल पक्ष उनीहरूलाई समेटेर लैजाने कोसिसमा लागेको छ। यो समाचार तयार पार्दासम्म ओली समूहसँग असन्तुष्ट नेताहरूसँग पोखरेल समूहको संवाद कायमै थियो। रातभर उनीहरूले छलफल गर्दा अध्यक्षमा कडा प्रतिस्पर्धाको सम्भावना देखिएको हो। ‘नेतृत्वका लागि हुने प्रतिस्पर्धा संस्थापन पक्षका लागि पेचिलो बन्न सक्ने अवस्था आएको छ,’ ओलीनिकट एक नेताले भने।
मुख्यतः पार्टी राजनीतिमा निरन्तर ओलीलाई साथ दिँदै आएका उपमहासचिव प्रदीप ज्ञवालीले धोका खाएका छन्। उनी महासचिवका आकांक्षी मात्र होइनन्, लायक पनि थिए। स्कुल विभागको प्रम्ख भएर एमालेलाई प्रशिक्षित गर्ने एक मात्र नेताको परिचय बनाएका ज्ञवालीलाई ओलीले आफ्नो टिममा अटाउन सकेनन्।
ओलीले महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याउन चाहेपछि ज्ञवाली असन्तुष्ट बनेका थिए। उनले शालीन विद्रोह गर्दा पार्टीपंक्तिमा सन्नाटा छाएको छ। ओलीलाई अध्यक्षमा मत हाल्ने भनिएका केही प्रतिनिधिले बाटो बदल्ने गरी अभिव्यक्ति दिइरहेका छन्।
ओलीलाई विगतमा फुटबलको पेलेसँग तुलना गर्ने नेता कृष्णगोपाल श्रेष्ठ केन्द्रीय सदस्यमा मात्रै राखिएपछि असन्तुष्ट बनेर बाटो मोडेका छन्। यसकारण काठमाडौंको मत ओलीका लागि कठिन बनेको छ।
विगतमा ओलीको अनन्य सहयोगी मानिने गोकुल बास्कोटाले पनि पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएपछि बागमती प्रदेशमा हलचल आएको छ। ओलीसँग टाढिएको धेरै समय भए पनि अप्ठ्यारोमा ओलीलाई नै साथ दिँदै आएका बाँस्कोटाले उनीसँग बिच्किएर साथ छाडिदिएका छन्।
ओली क्याबिनेटका प्रखर वक्ता रघुजी पन्त पनि टिमबाट बाहिरिएका छन्। नवौं महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओलीनिकट थिए। उनी उपाध्यक्षमा साझा उम्मेदवार बन्ने प्रयासमा छन्। ओलीले पन्तलाई सोमबार साँझ फोन गरेर मनाउने प्रयास गरेका थिए।
यसैगरी काशीनाथ अधिकारीलाई पनि ओलीले फोन गरेका थिए। प्रचार विभाग प्रम्ख राजेन्द्र गौतम पनि असन्तुष्ट बनेका छन्। राजेन्द्र गौतम, लीला गिरीलगायत नेताहरूले पनि ओली प्यानलबाट विद्रोह गरेपछि अध्यक्ष पदमा धक्का मात्र होइन, महासचिवका लागि पनि इतर पक्षलाई सहज हुने भएको छ। महासचिवका आकांक्षी पृथ्वीसुब्बा गुरुङ ओलीसँगै छन् तर सन्तुष्ट छैनन्। उनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
ओलीले कोसी प्रदेशबाट मात्रै अध्यक्षसहित ५ जनाले उम्मेदवारी दिए पनि अन्य प्रदेशबाट पोखरेल समूहलाई थोरबहुत सहयोग हुने देखिएको छ। संस्थापन पक्षले टुंगो लगाएको सूचीमा कोसीबाट अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षमा गुरु बराल, सचिवमा भानुभक्त ढकाल, सचिवमा शेरधन राई र हिक्मत कार्कीको नाम छ। बराल यसअघि पनि उपाध्यक्ष थएि।
सचिवको सूचीमा रहेका ढकाल यसअघि जनसंगठन प्रमुख थिए। राई स्थायी कमिटी सदस्य तथा कोसी प्रदेश समितिको इन्चार्जको भूमिकामा थिए। उनी कोसी प्रदेश सरकारको पहिलो मुख्यमन्त्रीसमेत हुन्। सचिवको सूचीमा परेका कार्की भने कोसी प्रदेश सरकारका मुख्यमन्त्री हुन्। उनी पार्टीमा भने स्थायी कमिटी सदस्य थिए।
संस्थापन पक्षले टुंगो लगाएका केन्द्रीय सदस्यको सूचीमा कोसी प्रदेशबाट विभिन्न क्लस्टर गरेर ४९ जना अटाएका छन्। महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने आकांक्षासहित काठमाडौं आएका धेरै सिनियर नेता केन्द्रीय सदस्यमा पनि नअटाउँदा ओलीसँग रुष्ट बनेका छन्। प्रदेशबाट विशाल भट्टराई, अग्नि खरेल पदाधिकारीका आकांक्षी थिए। कोसीलाई बढी महत्त्व दिएकोमा अन्य प्रदेशबाट आएका प्रनिनिधि सबैभन्दा बढी रुष्ट छन्।
अध्यक्षमा उम्मेदवारी दर्ता गरेका ओली मौन छन्। उम्मेदवारी दर्ता गरेपछि उनी असन्तुष्ट नेताहरूलाई मिलाउन लागिपरेका थिए भने पोखरेल कार्यकर्ताका बिचमा बसिरहेका थिए। अध्यक्षमा दर्तापछि पोखरेलले पार्टीलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने र सामूहिक नेतृत्वअन्तर्गत चल्नुपर्ने बताए।
‘पार्टीको नीति तथा पद्धतिभित्र रहेर प्रतिस्पर्धालाई आत्मसात् गरेर उम्मेदवारी दिएको हुँ। पार्टीलाई नयाँ ढंगले चलाउनुपर्छ। पार्टीलाई विधि र पद्धतिमा लानुपर्छ। पार्टी सामूहिक नेतृत्वअन्तर्गत चल्नुपर्छ,’ अध्यक्षका प्रत्यासी पोखरेलले भने।
पोखरेलले अध्यक्ष ओलीविरुद्ध प्यानलसहित उम्मेदवारी दिएका हुन्। ओलीले बन्दसत्रबाहिर कुनै प्रतिक्रिया दिएका छैनन्।
चुनौतीको सामना गर्न दोहोरिएँ
शंकर पोखरेल
महासचिवका उम्मेदवार
आन्दोलनले कुन ढंगले अगाडि बढ्नुपर्छ भन्ने माग गरेको हुन्छ, त्यसकै आधारमा पार्टीले दिएका फैसलाहरूलाई कार्यकर्ताहरूले पालना गर्दै अघि बढेपछि चुनौतीहरूको सामना गर्न सकिन्छ। यतिबेला हामीले हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सामना गर्ने संकल्प लिएका छौं।
स्वाभाविक रूपमा उहाँको टिमलाई बलियो बनाउने सन्दर्भमा कसले कहाँनिर के भूमिका खेल्नुपर्छ, त्यसका लागि हामी सधैं तयार हुनुपर्छ भन्ने आधारमा नै हामी सचेततापूर्वक अगाडि बढिरहेका छौं।
अहिलेको नेतृत्वले पार्टी सम्हाल्न सक्दैन
योगेश भट्टराई
उपमहासचिवका उम्मेदवार
देशको आवश्यकताअनुसार एमालेमा नयाँ नेतृत्व आउनुपर्छ। जेनजी विद्रोहपछि मुलुकमा ठुलो राजनीतिक परिवर्तन आएको छ। नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने अवस्था बनेको छ।
भदौको आन्दोलनपछि नेतृत्वमाथि धेरै प्रश्न उठेका छन्। नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ नेकपा एमालेलाई अगाडि बढाउनुपर्ने अवस्था छ। वर्तमान नेतृत्वले जनताको आकांक्षाअनुसार काम गर्न सकेको छैन। उक्त नेतृत्व नेताहरूकै वरिपरि घुमेको छ। पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन यसरी प्रतिस्पर्धामा गर्नुपरेको हो।
गुट छिन्नभिन्न
नेकपा एमालेको जारी ११औं महाधिवेशनमा विगतमा माओवादी केन्द्रबाट तथा नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरू छिन्नभिन्न भएका छन्। अध्यक्ष केपी शर्मा ओलीको समूहबाट पदाधिकारी र केन्द्रीय सदस्यमा नपरेपछि ती नेताहरू छिन्नभिन्न भएका हुन्।
रामबहादुर थापालाई उपाध्यक्ष दिएपछि लेखराज भट्टलाई अन्तिममा उपमहासचिवमा लगिएको छ। ‘ईश्वर पोखरेलको पक्षमा जान्छु भनेपछि मात्रै भट्टलाई उपमहासचिव बनाइएको हो,’ एक नेताले भने। भट्टलाई मनाउन भानुभक्त ढकाललाई सचिवमा साटफेर गरिएको थियो।
गुन्डुमा कमै उपस्थित हुने नेताहरू पनि उपेक्षामा परेका छन्। प्रदीप ज्ञवालीलाई महासचिव दिने भने पनि दिइएन। उनी उम्मेदवारी नै नदिने पक्षमा थिए। अन्तिममा उनले रुँदै गएर केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए। लालबाबु पण्डित पनि स्वतन्त्र रूपले सचिवमा उम्मेदवार दिन बाध्य भएका छन्। केन्द्रीय सदस्यमा झारिएपछि भीम आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। काशीनाथ अधिकारीले भने उम्मेदवारी नै दिएनन्।
ओलीको पहिलो घेराका मान्छे भए पनि झापाका अग्नि खरेल उपेक्षामा परेका छन्। विद्यादेवी भण्डारीलाई भेटघाट गरेर मिल्नुपर्छ भनेकै आधारमा उनलाई सचिवमा उपेक्षा गरिएको बताइएको छ।
ओली समूहमा नअटेपछि उनले स्वतन्त्र रूपमा सचिवमै उम्मेदवारी दिएका छन्। सचिवमा उम्मेदवारी घोषणा गरेका आनन्द पोखरेल केन्द्रीय सदस्यमा पनि परेनन्। उनले उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन्। विद्या भण्डारी र ईश्वर पोखरेलसँगको सम्पर्कमा रहेका कारण पोखरेललाई केन्द्रीय सदस्य हुनबाट रोकिएको बताइन्छ। यसैगरी सरस्वती बस्नेत पनि ओली समूहबाट उपेक्षामा परेकी छन्।
ओली समूहमा रहेका राजेन्द्र गौतम, श्याम बस्नेत तथा गणेश बस्नेतलाई पनि रोकिएको छ। थानेश्वर बस्याललाई भने ल्याइएको छ। सोलुमा मानवीर राई र बुद्धिकुमार राजभण्डारीलाई भूगोलमा जुधाइएको छ। उनीहरूमध्ये मानवीरलाई ओली समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ।
भर्खरै माधव नेपालको साथ छाडेर आएकी रामकुमारी झाँक्रीले पनि केन्द्रीय सदस्यमै चित्त बुझाउनुपरेको छ। नारदमुनि राना पनि हटाइएका छन्। पृथ्वी सुब्बा गुरुङको नजिक रहेका शेरबहादुर तामाङलाई केन्द्रीय सदस्यमा झारिएको छ। तामाङलाई सचिव दिने भनिएको थियो।
महेश बस्नेतलाई सचिवमा राखिएको छ। हिक्मत कार्की र शेरधन राईलाई पनि सचिवमा राखिएको छ। उद्योग व्यवसायी महासंघका अध्यक्ष भागीरथ सापकोटालाई पनि बाहिरै राखिएको छ। उनले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। दोलखाका बालकृष्ण शिवाकोटीलाई केन्द्रीय सदस्य हुनबाट वञ्चित गरिएको छ।
युवाहरूबाट सुहाङ नेम्वाङ पनि परेनन्। उनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल, ललितपुरकी मञ्जली शाक्य बज्राचार्य र विराटनगरकी शिल्पा कार्की निरालालाई पहिलोपटक ओली टिममा परेका छन्।
सुनिता केन्द्रीय स्थानीय विभागकी सदस्य हुन् भने मञ्जली ललितपुर जिल्ला कमिटी उपसचिव हुन्। शिल्पा कार्की भने मोरङको अधिवेशनमा उपसचिव उम्मेदवार बनेर पराजित भएकी थिइन्। पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ दोस्रोपटक ओलीको टिमबाट केन्द्रीय सदस्य उम्मेदवार बनेकी छन्।
ओखलढुंगाकी अस्मिता थापालाई पनि युवाको टिममा समेटिएको छ। अधिवक्ता राधिका खतिवडालाई पनि ओलीले आफ्नो टिममा समेटेका छन्। पदाधिकारीमा अध्यक्ष ओलीको संस्थापन पक्षले १९ जना पदाधिकारीमा उम्मेदवारी दर्ता गराएको छ।
अध्यक्षमा केपी ओली उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको हो। यद्यपि ज्ञवालीले भने केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै महासचिवमा शंकर पोखरेलको नाम टुंगो लागेको छ। उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाललाई अघि सारिएको छ।
प्रकाशित: १ पुस २०८२ ०६:१८ मंगलबार