नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पुनः जित हासिल गर्ने दृढ संकल्प र आत्मविश्वासका साथ पार्टी काममा सक्रिय हुन सम्पूर्ण पार्टीपङ्तीलाई निर्देशन दिएका छन्।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका सन्दर्भमा लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ताहरूको सुझाव सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र ‘सुदृढ एकता’ को आवश्यकता औँल्याए।
उनले यतिबेला देश र एमाले नेतृत्वको आन्दोलन चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उच्च मनोबलका साथ जनतामाझ जान आग्रह गरे।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकारमाथि केही आरोपहरु लगाए।
‘वर्तमान सरकार बनेको पहिलो निर्णयदेखि नै एमालेसँग पूर्वाग्रही ढङ्गले प्रतिशोध लिने काम भएको छ,’ उनले भने, ‘हामीले पराजित गर्नुपर्ने पात्रहरूलाई जिताउन निर्वाचनमा जादुमय तरिकाले परिणाम घोषणा गरिएको छ।’
उनले सरकारका क्रियाकलाप ‘फाँसीवादी तानाशाही भएको बताए। त्यसका विरुद्ध सशक्त आवाज उठाउन कार्यकर्तालाई आह्वान गरे।
अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चालाई असामयिक र असान्दर्भिक भने। उनले भने, ‘पार्टी एकताबद्ध छ, यसमा कसैलाई भ्रम नरहोस्। अध्यक्ष हटाउनुपर्छ भन्ने पार्टीको धारणा होइन, यो विषय ११औँ महाधिवेशनले विधिसम्मत ढङ्गले टुङ्गो लगाइसकेको छ।’
उनले नेतृत्वका विषयमा आएका हल्लाका पछाडि नलाग्न समेत आग्रह गरे। पार्टीभित्र सांगठानिक अराजकता डरलाग्दो रूपमा रहेको स्वीकार गर्दै अध्यक्ष ओलीले अब केन्द्रीय कमिटीबाटै गम्भीर सांगठानिक सुधारका निर्णयहरू गरिने जानकारी दिए।
उनले पार्टी सुदृढ र एकताबद्ध बनाउने गरी मात्रै सुझावहरू दिन लुम्बिनी प्रदेशका नेताहरूलाई निर्देशन दिए। एमाले अरूले भनेजस्तो कमजोर नभएको दाबी गर्दै अध्यक्ष ओलीले विचारमा बाँधिएको संगठन, बलियो जनाधार र समृद्ध नेपाल, सुखी नेपालीको स्पष्ट गन्तव्य आफूहरूसँग रहेको बताए।
‘जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा हामी देशको समग्र रूपान्तरण गर्न सक्छौं,’ उनले थपे, ‘हामीले सरकारमा रहँदा भूकम्पपछिको पुनर्निर्माणदेखि सामाजिक सुरक्षा र पूर्वाधार विकासमा ऐतिहासिक काम गरेका छौँ, जुन हाम्रा विरोधीहरूलाई पचेको छैन।’
अध्यक्ष ओलीले आफूले सत्यको बाटो नछाड्ने र विरोधीसँग कहिल्यै आत्मसमर्पण नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘यो पार्टी धेरैको रगत–पसिना र बलिदानबाट बनेको मजबुत किल्ला हो, यसलाई कसैले चाहेर पनि भत्काउन सक्ने छैनन्। हामी फेरि जित्नेछौं।’
सुझाव सङ्कलन कार्यक्रममा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल र सचिव छविलाल विश्वकर्मालगायत शीर्ष नेताहरूको सहभागिता रहेको थियो।
प्रकाशित: ४ असार २०८३ २२:०० बिहीबार



