प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनमा जानेमा कुनै शंका नरहेको बताउँदै चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।
छलफलमा सहभागी सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबैले एकै स्वरमा चुनावमा जाने वातावरण बनाउन सरकारलाई आग्रह गरेको बताए ।
उनले भने, ‘म छलफलमा सहभागी हुनुभएका व्यक्तित्वले भनेका कुरालाई जस्ताको तस्तै भन्छु- एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले चुनावमा जान तयार छ । तर सरकारले चुनाव हुने वातावरण बनाओस् भन्नु भएको छ । त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अब संसद पुनर्स्थापना होइन । अब चुनावमै जानुपर्छ भन्नुभयो । त्यो वातावरण सरकारले बनाउनुपर्यो भन्दै उहाँले नेकपा एमाले अध्यक्षलाई पनि आग्रह गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पनि तोकिएकै समयमा सरकारले पाएको म्यान्डेड अनुसार निर्वाचन हुनुपर्ने बताउनुभयो । सबैको कुरामा प्रधानमन्त्रीले सबै पूर्वाधार र सुरक्षाको व्यवस्थापन गरेर निर्वाचन गराउन सरकार तयार रहेको बताउनुभएको छ।’
प्रकाशित: १२ पुस २०८२ १७:०५ शनिबार