राजनीति

ओलीको दाबीः सामाजिक सञ्जाल नेपालमा दर्ता हुन्थे, यहीबाट उचालेर भएनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल नेपालमा दर्ता नहुन देशभित्रैबाट उचाल्ने काम भएकाले दर्ता नभएको दाबी गरेका छन्।

बिहीबार भक्तपुर एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्।

‘सामाजिक सञ्जाल बन्द गरेका थिएनौं। डेढ वर्षअगाडि देखि हामीले भनिरहेका थियौं नेपालमा कुनै व्यवसाय गरिन्छ भने दर्ता गर्नुपर्छ भनेर,’ ओलीले भने, ‘मलाई हेप्न पाइन्छ, मेरो देशलाई हेप्न पाइँदैन भनेर।’

फेरि पनि सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नुपर्ने उनले बताए। उनले भने, ‘नेपालमा व्यावसाय गर्ने पैसा कुम्लो पारेर कर नतिरेर अन्तै लैजाएर जाने। यो कुरा चल्दैन, फेरि पनि चल्दैन।’

यो देशमा सामाजिक सञ्जाल दर्ता भएकै हुनुपर्ने र उनीहरुले कमाएको पैसाबाट कर तिरेको हुनुपर्ने उनले बताए।

‘साग बेचेर, टमाटर बेचेर कमाउनेले कर तिर्नुपर्छ, सामाजिक सञ्जालबाट अर्बौं कमाउनेले कर तिर्नुनपर्ने ? यही हो न्याय, यही हो हाम्रो देशको स्वाभिमान ?,’ उनले प्रश्न गरे।

स्वाभिमान नभएकाहरुले भड्काउने कुरा गरेको पनि ओलीले आरोप लगाए। ‘दर्ता हुन्थ्यो, यस्तै तत्वहरुले भाँडभैलो मच्चाएर दर्ता नभएको हो, उचालेर दर्ता नभएको हो। नत्र कुन देशमा गएर दर्ता गर्दिनँ भन्छन्, कर तिर्दिनँ भन्छन्, तिम्रो कानुन मान्दिनँ भन्छन् ? तिम्रो संविधान, तिम्रो देश मान्दिनँ भन्छन्,’ ओलीले अगाडि भने।

सबैको देशलाई सामाजिक सञ्जालले मानेको तर नेपालबाटै उचाल्ने काम भएको पनि ओलीले दाबी गरे। उनले भने, ‘यही भित्रबाट उचालियो, देशलाई पनि माटो बनाउन खोजियो।’

प्रकाशित: २३ आश्विन २०८२ १४:२७ बिहीबार