राजनीति

ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी

‘म माझ किरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ, राष्ट्रपति नभएको भए दसौं महाधिवेशनमै अध्यक्ष हुन्थें’

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको नेतृत्व गर्ने बताएकी छन्। भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ट सन्देश दिँदै ‘माझ किरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ, अघि बढें’ भनेकी छन्। उनले ओली र निकट नेताहरूलाई संस्थापनका नाममा गुट नचलाउनसमेत चेतावनी दिएकी छन्। ‘पार्टीले पार्टी चलाउने हो, संस्थापनका नाममा गुट चलाउन मिल्दैन,’ उनले भनिन्, ‘पार्टीमा गुट गर्न मिल्दैन, गुटका नाममा तर्साउने, कारबाही गर्छु भनेर धम्क्याउनेजस्ता काम बन्द हुनुपर्छ।’

सातौं महाधिवेशनदेखि पार्टीको नेतृत्व हस्तान्तरणको विषय चर्चामा रहेको बताउँदै भण्डारीले भनिन्, ‘ओलीपछि कसको नेतृत्व भन्ने होइन, दुई वर्षे कार्यकाल र ७० वर्षे उमेरहद लागु भएपछि नेतृत्व आफैं आउँछ, कसैले कसैलाई बोकिरहनुपर्दैन,’ उनले स्पष्ट भाषामा भनिन्, ‘मेरो उमेर ७० कटेको छैन। म सधैं पार्टी काममा छु। पार्टीले हिजो राष्ट्रपतिको भूमिकामा पठायो। आज फर्केर आएपछि पार्टीको काममै व्यस्त छु।’ उनले नेतृत्वको दाबी नछाड्ने पनि बताएकी छन्।

केन्द्रीय कमिटीको बैठकमा सदस्यहरूलाई मनोवैज्ञानिक त्रास सिर्जना गर्दैै ‘विद्या भण्डारीको प्रवक्ता बनेको तथा पार्टीका विभिन्न तहमा हारेकाहरूको लर्को लागेको’ जस्ता भाषा प्रयोग गरिएपछि भण्डारीले पनि मंगलबार आफू अघि बढिसकेको बताउँदै कसैलाई पनि हतास नहुन र नआत्तिन सन्देश दिएकी थिइन्।

एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेसँगै भण्डारीलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवालीले साथ दिएका थिए। उनीहरूले आफ्नो उमेर ७० वर्ष कटे पनि नयाँ नेतृत्वका लागि उमेरहद ७० को प्रावधानबारे स्पष्ट रूपमा अडान राखेका थिए। यही विषय थाहा पाएका ओलीले भण्डारीलाई देशीविदेशी तत्त्वहरूले पार्टीको हितविपरीत प्रयोग गर्न खोजेको भाष्य निर्माण गराउन खोजिरहेका थिए। यस सन्दर्भमा पनि भण्डारीले आफू पार्टी काममा लाग्दा विभिन्न लाञ्छना लाग्ने विषयमा पुरै जानकार रहेको बताएकी छन्। ‘मैले वेबसाइट खोलेर त्यहीँ गाली गर्न र सुझाव दिन सबै खुला गरेकी छु,’ उनले भनिन्।

एमाले अध्यक्ष ओलीले सम्मानित पदमा पुगेका व्यक्तिलाई पार्टी राजनीति नसुहाउने आशयसहितको धारणा बाहिर ल्याएपछि आफू पार्टी राजनीतिमा आउनुपरेको प्रस्टीकरण उनले दिएकी छन्।

राष्ट्रपतिमा जान नमानेको अवस्थामा पार्टीको अनुरोध र आग्रहमा त्यो पदमा पुगेर राष्ट्रहितमा काम गरेको बताउँदै उनले अहिले राजनीतिमा पनि पार्टीको सैद्धान्तिक धारलाई बलियो बनाउन र राष्ट्रिय हितमा काम गर्न फर्किएको स्पष्ट पारेकी थिइन्। भण्डारीका अनुसार एमालेभित्र अब ओलीले अर्को कार्यकाल अध्यक्ष बन्न मिल्दैन। ‘ठुलो पार्टी छ, नेतृत्व पुग्न र आफ्ना कार्यक्रम लागु गर्न सबै स्वतन्त्र हुनुपर्छ, नत्र किन तल्लो तहमा बसेर काम गर्ने, संगठन निर्माण गर्ने, नेतृत्वमा पुग्ने चाहना सबैको हुन्छ,’ उनले भनिन्।

उनका अनुसार यसअघि नेतृत्वको दाबी आफूले छाडेपछि ईश्वर पोखरेललाई दिने गरी छलफल भएको थियो। ‘म राष्ट्रपतिको पदमा पुगेपछि दसौं महाधिवेशनमा ईश्वर पोखरेल अध्यक्ष हुनुपथ्र्यो। सहमति पनि त्यही थियो। हिजो, आज र भोलि एउटै व्यक्तिको नेतृत्व प्रभावकारी हुन्न भन्ने विषयलाई जोकोहीले मनन गर्नुपर्छ। उहाँले नै यसअघि भनेका दस्ताबेजहरू पल्टाउँदा हुन्छ,’ भण्डारीले भनिन्।

उनले आफू राष्ट्रपति पदमा नपुगेको भए दसौं महाधिवेशनबाटै नेतृत्व गर्ने आँट गरेको, अहिले ढिला भएको र नयाँ पुस्तालाई पनि नेतृत्व हस्तान्तरण गर्नुपर्ने अवस्था सिर्जना भइसकेको बताइन्। उनले आफूमाथि नैतिकताको प्रश्न गर्नेहरूलाई ‘दल र दलका नेताहरूचाहिँ अनैतिक हुन् र ?’ भन्ने प्रश्न पनि गरिन्।

ओलीले नैतिक प्रश्नको विषय उठाएपछि यसको काउन्टर जवाफमा दल र नेताहरू अनैतिक छन् र भन्ने जवाफ उनले दिएकी थिइन्। ‘दलचाहिँ अनैतिकहरूको ठाउँ हो र ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान् हुन्छ नि। अहिले जसरी कार्यकर्तालाई ‘टर्चर, टेरर’ गर्ने, बोल्न नदिने र बोलेबापत कारबाही गर्ने भन्न थालिएको छ। यो बेठिक भइरहेको छ,’ उनले भनिन्।

पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई आफूबाहेक अरू केटाकेटी हुन् भन्ने लागेकै कारण तेस्रो पटक अध्यक्षमा रहर गरेको समेत बताइन्। ‘उहाँलाई आफूबाहेक अरू केही जान्दैनन् र अरू सबै केटाकेटी हुन् भन्ने ठुलो भ्रम छ,’ उनले भनिन्।

उनले यो विषयमा साउन ४ गते ओलीसँगको भेटघाटमा पनि कुरा उठाएको बताइन। उनले पार्टीको विधानले व्यवस्था गरेको दुई कार्यकाल र ७० वर्षे उमेरहदबारे ओली नेतृत्वमा पुगेपछि आफ्नै विचार बिर्सेको आफ्ना दस्तावेजहरू अध्ययन गर्न छाडेको र अरूले पार्टी चलाउन सक्दैनन् भन्ने भान परेको बताइन्। ‘पार्टीभित्र आफूबाहेक अरू कोही जान्नेसुन्नै छैन भन्ने भ्रम उहाँलाई परेको छ,’ भण्डारीले भनिन्।

उनले आफू पार्टीमा फर्किने र सक्रिय रूपमा राजनीतिमा आउने भन्नेबारे तीन वर्षअघिबाटै अध्यक्ष ओलीसँग कुरा भएको त्यतिबेला अरूले पार्टी चलाउन सक्दैनन् भनेर राजनीतिमा आउन निम्ता गरेको तर पनि अहिले प्रकट भएका प्रतिक्रियाप्रति अचम्म लागेको बताइन्। ‘उहाँसँग भेट्दा उसले पनि पार्टी चलाउन सक्दैन, त्यसले पनि चलाउन सक्दैन अर्को उपाय छैन भन्ने मान्छेले अहिले थाहा पाइन भन्नुभएको छ,’ भण्डारीले भनिन्।

उनले १४ असारमा पनि राष्ट्रिय सभागृहमा पार्टी सदस्यता नवीकरणबारे सार्वजनिक रूपमा बोल्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नेबारे भन्दै छु भन्नेसमेत जानकारी गराएको बताइन्। ‘त्यो बेला उहाँले हुन्न भन्नुभएन। नकारात्मक कुरा गर्नुभएन। ठिकै छ भन्नुभएको हो,’ उनले भनिन्। उनले भेटमा पार्टीको भावी नेतृत्वबारे समेत कुरा हुने गरेको बताइन्। ‘भावी नेतृत्वको विषयमा कुराकानी भएको हो, अहिले उहाँले थाहा पाइनँ भन्नुभएको छ,’ उनले भनिन्।

प्रकाशित: ७ श्रावण २०८२ ०६:४२ बुधबार

# Prime Minister KP Oli # Nagariknews # Central Committee meeting # Bidya Devi Bhandari