बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेका बेला नेपाल आयल निगमले होटेल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरूलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको छ।
साविकभन्दा २० प्रतिशत बढी ग्यास आयात र बिक्री वितरण भइरहँदा पनि सर्वसाधारणले सहजै ग्यास नपाएको गुनासो बढेपछि निगमले कानुनी कारबाहीको चेतावनी दिएको हो।
निगमले बिहीबार सूचना जारी गर्दै गत असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामका भरी सिलिन्डर पर्याप्त मात्रामा बिक्री वितरण भइरहेको जनाएको छ। तर व्यावसायिक प्रतिष्ठानहरूले अनावश्यक रूपमा सिलिन्डर सञ्चित गर्दा आम उपभोक्ताले सास्ती खेप्नुपरेको निगमको ठहर छ।
निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरीका आधारमा गरिएको बजार अनुगमनका क्रममा कतिपय होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको छ।
निगमले त्यसरी राखिएका सिलिन्डर तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गराउन आग्रह गरेको छ।
सूचनाको उल्लङ्घन गरी कहीँ कतै ग्यास सिलिन्डर गैरकानुनी रूपमा मौज्दात राखेको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने नेपाल आयल निगमले बताएको छ।
प्रकाशित: २८ श्रावण २०८३ २०:२३ बिहीबार