प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएका नागरिकहरूलाई नुवाकोटको विदुर पुगेर भेटेका छन्।
बिहीबार बिहान स्थलमार्ग हुँदै विदुर पुगेका प्रधानमन्त्री शाहले स्थानीय स्वास्थ्य संस्थामा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका हुन्।
उनले घाइते तथा उनीहरूका परिवारजनसँग कुराकानी गर्दै राज्यका तर्फबाट उपचार र राहतमा कुनै कमी हुन नदिने विश्वास दिलाए।
प्रधानमन्त्री शाहले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन स्वास्थ्यकर्मी तथा स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। गम्भीर घाइतेहरूलाई आवश्यक परे तत्काल थप उपचारका लागि काठमाडौंका ठूला अस्पतालहरूमा पठाउनसमेत उनले आग्रह गरे।
निरीक्षण टोलीमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसमेत सहभागी छन्। टोलीले घाइतेहरूको अवस्था बुझ्नुका साथै विदुर क्षेत्रमा बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गरेको छ।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिकाका नदी तटीय बस्तीहरूमा ठूलो जनधनको क्षति हुनुका साथै थुप्रै नागरिक घाइते भएका छन्।
प्रकाशित: ११ भाद्र २०८३ १३:४९ बिहीबार