नेपाली कांग्रेसका सांसद एनपी साउदले सरोकारवाला पक्षका असन्तुष्टि सम्बोधन गरेर मात्रै विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता साउदले सबैलाई स्वीकार्य हुने गरेर मात्रै विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनको विधेयक, २०८० अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन्।
नेता साउदले शिक्षा क्षेत्रको समग्र सुधारबिना मुलुकको समृद्धि सम्भव नहुने भएकाले विधेयक निर्माणमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए ।
‘सरकारले तत्काल देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गरी सबैलाई स्वीकार्य हुने गरी विधेयक अगाडि बढाउन आवश्यक देखिन्छ,’ साउदले भने, ‘शिक्षा क्षेत्रको समग्र सुधारबिना मुलुकको समृद्धि सम्भव हुँदैन । त्यस कारण यो विषयमा सरकार गम्भीर हुन जरुरी छ ।’
लामो समयको प्रतीक्षापछि विषयगत समितिले विधेयकको प्रतिवेदन पारित गरेको छ । शिक्षा विधेयकले सङ्घीय संरचनाअनुसार विद्यालय शिक्षालाई कानुनी रूपमा व्यवस्थित गर्दै आधारभूत शिक्षा सुनिश्चित र निजी विद्यालय नियमन गर्ने लगायतका प्रावधानहरू सकारात्मक भएको सांसद साउनको भनाइ थियो ।
उनले भने, ‘तर, सरोकारवालाहरूको व्यापक असहमतिका बिच विगतमा सरकारले गरेका सम्झौताहरूको बेवास्ता गरी अगाडि बढाउँदा व्यापक असन्तुष्टिहरू देखिएका छन् ।’ साउदले २० औँ वर्षदेखि कार्यरत अस्थायी प्रकृतिका राहत, साबिक उच्च मावि, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्ने दायित्वबाट सरकार पन्छिन खोजेको गुनासो आएको पनि बताए।
प्रकाशित: ६ भाद्र २०८२ १५:०७ शुक्रबार