राजनीति

अब हामीले देश बनाउँछु भनेर लागेका नवजवानलाई प्रेरित गर्नुपर्छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायका अग्रजले कुनै एक जातजातिका लागि मात्र नभई सिङ्गो देशका लागि लडेको बताएका छन्।  

नेपाली कांग्रेसको आदिवासी जनजाति विभागद्वारा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘आदिवासी जनजाति योद्धाहरू’ पुस्तक विमोचन र सम्मान कार्यक्रममा उनले देशको राजनीतिक परिवर्तनसँगै स्वतन्त्रता र समानताका लागि अग्रजले लडेर ल्याएको उपलब्धिलाई सबैले समान रूपले उपभोग गर्ने वातावरण बनाउनुपर्ने बताएका हुन्। 

‘तपाईंको परिवारका अग्रजले लडेको कुनै जातजातिको स्वतन्त्रताका लागि होइन, सिङ्गो नेपालको स्वतन्त्रता, समानता, प्रजातन्त्र र लोकतन्त्रका लागि हो, स्वतन्त्रता र समानताको उपभोग सबै जातजातिले गरे मात्र अर्थपूर्ण हुन्छ, त्यसैले हामीले लोकतन्त्रको विश्वव्यापी मान्यतासँगै नेपालको विविधतालाई समेटेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अभ्यासमा छौँ, यसमा भएका गल्ती कमजोरी सुधार गर्नुपर्छ,’ उनले भने।  

नेता थापाले नेपालको राजनीतिमा आदिवासी जनजातिको समावेशीकरणको इतिहास कांग्रेसबाटै सुरु भएको भन्दै विसं २०१५ देखि पार्टीको समिति, आन्दोलन र मन्त्रिमण्डलसम्म समावेशी चरित्र रहेको बताए। ‘अब हामीले देश बनाउँछु भनेर लागेका नवजवानलाई प्रेरित गर्नुपर्छ, बाँकी काम सम्पन्न गर्नुपर्छ, पार्टी निरन्तर पुस्तान्तरणमा चलिरहन्छ, नेपाल सधैँ रहन्छ, नेपाली कांग्रेस पनि निरन्तर चलिरहन्छ,’ उनले भने।  

प्रकाशित: ७ भाद्र २०८२ ०६:४६ शनिबार