राजनीति

‘अब हामीलाई एक नम्बर हुन कसैले रोक्न सक्दैन, हप्तापिच्छे पार्टी प्रवेश हुन सक्छ’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेता डा. भीम रावलको आगमनसँगै आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने निश्चित भएको दाबी गरेका छन्।

उनले अन्य दलबाट नेताहरू आउने क्रम जारी रहेको संकेत गर्दै अब हप्ता-हप्तामा पार्टी प्रवेश कार्यक्रम गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

बुधबार नेता रावललाई पार्टीमा स्वागत गर्दै संयोजक दाहालले भने, ‘भीम रावलजी आइसक्नुभएपछि हामी झनै बलियो भएका छौँ। अब हामीलाई एक नम्बर पार्टी बन्न कसैले रोक्न सक्दैन।’

पार्टीमा प्रवेश गर्नेहरूको लहर चल्ने संकेत गर्दै दाहालले रमाइलो पारामा कार्यक्रम व्यवस्थापनको आर्थिक पक्षबारे पनि टिप्पणी गरे। ‘अझै आउँदै हुनुहुन्छ। अब हप्ता-हप्तामा यस्तो कार्यक्रम गर्नुपर्ने हो कि भन्ने लाग्या छ,’ उनले भने।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमको खर्चतर्फ संकेत गर्दै उनले थपे, ‘यदि त्यसो भयो भने (कार्यक्रम) पेरिसडाँडा वा नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा गर्नुपर्ला, नत्र त हप्तापिच्छे यस्तो कार्यक्रम गर्न दुई-दुई लाख खर्च गर्न सकिँदैन।’

प्रकाशित: २६ कार्तिक २०८२ १८:२२ बुधबार