नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको चरम गुटबन्दी र बिचौलियातन्त्र अन्त्य गर्न आगामी महाधिवेशनबाट पार्टी सभापति सोझै १२ लाख क्रियाशील सदस्यले प्रत्यक्ष चुन्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
उनले यस्तो व्यवस्था लागू भए कांग्रेसभित्रका सबै गुट एकै दिन ‘स्वाहा’ हुने दाबीसमेत गरे।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै महामन्त्री थापाले पार्टीको शक्ति केही सय महाधिवेशन प्रतिनिधिमा सीमित हुँदा नेताहरूले सदस्यलाई नभई गुट र बिचौलियालाई रिझाउने प्रवृत्ति बढेको सुनाए। यो संरचनागत कमजोरीलाई नतोडेसम्म पार्टी रूपान्तरण असम्भव रहेको उनको तर्क छ।
नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले भने, ‘अहिले कांग्रेसको सभापति बन्न १२ लाख मान्छेलाई रिझाउनु पर्दैन, दुई सय मान्छे रिझाए पुग्छ। तर जब १२ लाख क्रियाशील सदस्यले सोझै सभापति छान्ने व्यवस्था हुन्छ, तब कांग्रेसको सबै गुट त्यही दिन स्वाहा हुन्छ। त्यो बेला कुनै नेताले सानो गुट बनाएर वा दुई-चार जनालाई रिझाएर सभापति बन्छु भन्ने कल्पनै गर्न सक्दैन।’
उनले थपे, ‘त्यस्तो अवस्थामा सभापति बन्न चाहने व्यक्तिले आफ्नो व्यक्तित्व, विचार र कार्यक्रम लिएर सिधै १२ लाख सदस्यको मन जित्नुपर्छ। यसो गर्दा पार्टी स्वतः सदस्यप्रति जवाफदेही बन्छ र अहिलेको जस्तो सीमित नेतामा शक्ति केन्द्रित हुने अवस्था अन्त्य हुन्छ।’
महामन्त्री थापाले आफूलाई पार्टीको विगत र भविष्य दुवैको प्रतिनिधिको रूपमा व्याख्या गरे। उनले भने, ‘म विगत हुँ, म वर्तमान पनि हुँ, र त्योभन्दा बढी म भविष्य हुँ। कांग्रेसले विगतको गौरव मात्र गाएर हुँदैन, अबको २० वर्षको भविष्यको योजना के हो भनेर नागरिकलाई स्पष्ट भन्न सक्नुपर्छ।’ उनले आफ्नो राजनीतिक लाइन ‘निरन्तरतासहितको परिवर्तन’ भएको स्पष्ट पारे।
आफ्नो भूमिकाबारे प्रस्ट्याउँदै थापाले आफू संस्थापन पक्षमै रहेर पनि विद्रोही चेत बोकेको व्यक्ति भएको बताए। पार्टीभित्र गलत निर्णय हुँदा आफूले निरन्तर संघर्ष गरिरहेको र कहिलेकाहीँ फरक मत (नोट अफ डिसेन्ट) लेखेरै भए पनि आफ्नो अडान स्पष्ट पार्ने गरेको उनले स्मरण गरे।
‘म संस्थापन हुँ, तर म विद्रोही चेत बोकेको संस्थापनभित्रको मान्छे हुँ,’ उनले भने, ‘मेरो जिम्मेवारी पार्टीलाई सही बाटोमा हिँडाउन निरन्तर लड्ने हो। कहिले सफल भइन्छ, कहिले भइँदैन, तर म थाकेको छैन।’
प्रकाशित: १२ भाद्र २०८२ ०८:३३ बिहीबार