गृहमन्त्री सुधन गुरुङले अब जनता वा आन्दोलनकारीमाथि राज्यको गोली नचल्ने उद्घोष गरेका छन्।
अधिकार माग्ने नागरिकमाथि दमन गर्ने दिन सकिएको उल्लेख गर्दै उनले गोली नै चल्नुपर्ने अवस्था आए पहिला गृहमन्त्रीको छातीमा लाग्नुपर्ने बताए।
जेन-जी सहिद स्मृति दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सुरक्षा निकायलाई राजनीतिक स्वार्थमा दुरुपयोग गर्ने विगतको गलत संस्कार अन्त्य गरिएको दाबी गरे।
‘विगतमा अधिकार माग्दा हाम्रा दाजुभाइ-दिदीबहिनीमाथि गोली बर्साइयो। तर अब यो देशमा कसैले जनतामाथि गोली चलाउने हिम्मत गर्न सक्दैन,’ गृहमन्त्री गुरुङले भने, ‘यदि माग पूरा गर्न गोली नै चलाउनुपर्ने हो भने पहिला त्यो गोली मेरो छातीमा चल्नुपर्छ, त्यसपछि मात्र जनतामाथि चल्छ।’
सुरक्षा निकायभित्र विगतमा रहेको राजनीतिक हस्तक्षेप र आर्थिक चलखेल अन्त्य गरिएको उल्लेख गर्दै उनले प्रहरी र सेनालाई स्वतन्त्र छाडिएको बताए।
‘सुरक्षा निकायलाई पनि न्याय मिल्नुपर्छ। सरुवा र बढुवाका लागि नेताका घरमा सुटकेस बोकेर धाउनुपर्ने बाध्यता हामीले हटाइदिएका छौं,’ उनले भने, ‘उहाँहरूलाई काम गर्न ‘फ्री’ छाडिदिएका छौं।’
आफू र वर्तमान सरकार कुनै पनि आर्थिक प्रलोभनमा नफस्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘छाती चौडा पारेर भन्छु, १ रुपैयाँ भ्रष्टाचार गरेको कसैले देखाउन सक्दैन। ढुक्क हुनुहोस्, यसपालि तपाईंहरूको गृहमन्त्री घुसिया होइन।’
जनताको ठूलो आशा र भरोसाका कारण आफूलाई काममा चुकिन्छ कि भनेर सधैँ डर लाग्ने गरेको उनले अनुभव सुनाए। ‘मलाई राति सुत्न पनि डर लाग्छ, कतै कमजोरी पो भइहाल्ने हो कि भनेर १०० मा ९९ प्रतिशत डर रहन्छ,’ मन्त्री गुरुङले थपे, ‘हामीलाई देशलाई सिंगापुर वा स्विट्जरल्यान्ड बनाउनु छैन, नेपाललाई नेपाल नै बनाएर जनताका सपना पूरा गर्नु छ।’
प्रकाशित: २३ भाद्र २०८३ १५:५७ मंगलबार