राजनीति

अब कांग्रेसले थप जिम्मेवार र परिपक्व निर्णय लिनुपर्छ: चन्द्र भण्डारी

कांग्रेस नेता डा. चन्द्र भण्डारीले नेपाल कांग्रेस अब थप जिम्मेवार र परिपक्व हुनुपर्ने बताएका छन् । जेन-जी आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिमा नेपाली कांग्रेसले जिम्मेवार र परिपक्व निर्णय लिनुपर्ने भण्डारीको भनाइ छ ।  

भण्डारीले अहिलेको समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रित हुनुपर्ने बेला भएको बताएका छन् । उनले भने, ‘यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ ।’

उनले पार्टीभित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढ्ने पनि बताए । उनले आफ्ना विचार सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै भएका छन्, ‘कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन।’

भण्डारीले पार्टीको सबैभन्दा शक्तिशाली निकायले बहुमतको हस्ताक्षरसहित महाधिवेशनको प्रस्ताव बुझाइसकेको उल्लेख गर्दै अधिवेशन नियमित प्रक्रिया र पार्टीको जीवन्तताको प्रतीक भएको बताएका छन्।

तत्कालीन सत्ता साझेदार नेकपा एमाले पनि मंसिरमा महाधिवेशन गर्ने तयारीमा रहेको अवस्थामा कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता देखाउन चुक्न नहुने र आफ्नो अधिवेशन पनि टार्न नमिल्ने बताएका छन् ।

प्रकाशित: १९ कार्तिक २०८२ १३:२० बुधबार