जेनजी अभियन्ता रक्षा बमले जनताले आफ्नो सरकार खोज्न, सत्तामा बसेकालाई जिम्मेवार बनाउन र जवाफदेहिता माग्न उभिने ठाउँ सडक भएको बताएकी छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बमले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन्। उनले विडम्बनापूर्ण रूपमा आफ्ना प्रश्नको जवाफ माग्दा जनताले पटक–पटक जीवनको आहुति दिनुपरेको बताइन्।
नागरिकले प्रश्न सोधेकै कारण उनीहरूको ज्यान जानुपर्ने अवस्था सरकार जिम्मेवार र जवाफदेही नहुँदासम्म अन्त्य नहुने उनको भनाइ छ।
'जनताले आफ्नो सरकार खोज्न, सत्तामा बसेकाहरूलाई जिम्मेवार बनाउन र जवाफदेहिता माग्न उभिने ठाउँ सडक हो,' बमले भनेकी छन्, 'तर विडम्बना, आफ्ना प्रश्नहरूको जवाफ माग्दा जनताले बारम्बार आफ्नो जीवनको आहुति दिनुपरेको छ। आफ्ना नागरिकले प्रश्न सोधेको बदलामा उनीहरूको ज्यान जानुपर्ने यो श्रृङ्खला सरकारहरू साँच्चै जिम्मेवार र जवाफदेही नहुन्जेल रोकिने छैन।'
जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको स्मरण गर्दै उनले आन्दोलनपछि गुमेका जीवनको पनि एक वर्ष पूरा भएको बताएकी छन्। उनले जेनजी आन्दोलनपछि बनेको सरकार तथा आगामी सरकारहरूलाई जनताको जीवन रक्षाका लागि जिम्मेवार बन्न आग्रह गरेकी छन्।
बमले सरकारलाई जनताको आवाज सुन्न आग्रह गर्दै कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान् हुन नसक्ने बताएकी छन्।
'आज जेनजी आन्दोलन भएको ठीक एक वर्ष पूरा भएको छ। त्यो आन्दोलनपछि हामीले गुमाएका जीवनहरूको पनि एक वर्ष पूरा भएको छ। आज उनीहरूलाई सम्झिँदै जेनजी आन्दोलनपछि बनेको सरकार र अब बन्ने सरकारहरूलाई हाम्रो विनम्र अनुरोध छ, कृपया जनताको जीवन रक्षा निम्ती जिम्मेवार बन्नुहोस्। जनताको आवाजलाई सुन्नुहोस्। कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान् हुन सक्दैन,' उनले भनिन्।
बमले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। 'जेनजी सहिदहरू अमर रहून्,' उनले भनेकी छन्।
प्रकाशित: २३ भाद्र २०८३ १०:०३ मंगलबार