नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।
सोमबार झापामा आयोजित ‘नेसनल भोलेन्टियर फोर्स’ कोशी प्रदेशस्तरीय युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै उनले निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न हुनुपर्ने बताएका हुन्।
ओलीले भने, ‘मतदाताले स्वतन्त्र ढंगले मतदान केन्द्रमा पुगेर भोट खसाल्न पाउनुपर्छ। कुनै प्रकारको व्यवधान हुनु हुँदैन। नेकपा एमाले यस विषयमा सदैव अडिक रहँदै आएको छ, अहिले पनि अडिक छ र आगामी दिनमा पनि अडिक रहनेछ।’
उनले बुथ कब्जा हुने आशंका व्यक्ति गर्दै भने, ‘कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ। बुथ कब्जा गर्ने कसैले छुट पाउने वाला छैन, कसैले बुथ कब्जा गर्न सक्ने वाला पनि छैन।’
अध्यक्ष ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’को भूमिका शान्ति–सुव्यवस्था कायम गर्नु रहेको बताउँदै यसलाई जनताको संगठित शक्ति भएको बताए। ‘यो खाली पानी बाँड्ने मात्रै होइन, शान्ति सुव्यवस्था कायम गर्न भरपर्दो जनशक्तिका रूपमा परिचालित हुने जनताको शक्ति हो,’ उनले भने।
प्रकाशित: ११ फाल्गुन २०८२ १६:०७ सोमबार