नेकपा एमालेले वर्तमान सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने भएको छ।
एमाले कार्यदलले सर्वसम्मत रूपमा पारित गरेको प्रतिवेदनमा सरकारविरुद्ध आन्दोलन चर्काउन छिट्टै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक डाक्ने निष्कर्ष निकालिएको हो।
आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले पार्टीलाई प्रतिपक्षी र जुझारु ढङ्गले अगाडि बढाउने बताए।
वर्तमान सरकार अधिनायकवादी, प्रतिशोधी, निरंकुश र जनविरोधी शैलीमा चलेको निष्कर्ष निकाल्दै एमालेले त्यसको विरुद्धमा सशक्त सडक आन्दोलन गर्ने रणनीति तय गरेको उनले जानकारी दिए।
यस्तै, एमालेले तत्काल पार्टीको विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन नबोलाउने भएको छ। नेतृत्व परिवर्तन, ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधानजस्ता महत्त्वपूर्ण विषयहरू अब पार्टीको नियमित महाधिवेशन र विधान अधिवेशनमै छलफल गरेर टुंगो लगाइने बस्नेतले बताए।
यसअघि कार्यदलमा प्रस्तुत भएका फरक-फरक प्रतिवेदनलाई एकीकृत गर्न नेताहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिइएको थियो।
उनीहरूले तयार पारेको २९ पृष्ठको एकीकृत प्रतिवेदनमा १३ वटा समूहबाट आएका सुझावहरूलाई अनुसूचीमा समावेश गर्दै कार्यदलले सर्वसम्मत रूपमा पारित गरेको छ।
प्रकाशित: ४ आश्विन २०८३ १५:०७ आइतबार