म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले नवनिर्वाचित मन्त्री तथा सांसदहरूलाई भनसुनवाद, नातावाद र चाकरीबाजबाट टाढा बस्न सुझाव दिएका छन्।
उनले अब आगामि दिनहरूमा भ्रष्टाचार, कुशासन, ढिलासुस्तीजस्ता नेपाली कुसंस्कारबाट परै रहन आग्रह गरे। यसो नगरिएको खण्डमा जनताले गुल्ट्याइदिने समेत चेतावनी दिए।
साथै पुनले सबै बेथितिलाई हटाउने अभियान प्रधानमन्त्रीसहित मन्त्री, नवनिर्वाचित सांसद, सचिव, सहसचिवहरूबाटै सुरु गर्नुपर्ने भनाइ राखे।
'अब आउने दिनहरूमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, नातावाद, कृपावाद, घुसखोरी, चाकरीवाज, भनसुनवाद सबै बेथितिहरू हटाउने अभियान प्रधानमन्त्रीसहित मन्त्रीहरू, नवनिर्वाचित सांसदहरू, सचिवहरू सहसचिवहरूबाट नै सुरु गर्नुपर्छ। माथिका सुध्रे भने मात्र तलका सुध्रिन्छन्,' उनले सामाजिक सञ्जालमा लेखे, 'नवनिर्वाचित सासंदहरू भनसुनवाद, नातावाद र चाकरीवाज जस्ता नेपाली कुसंस्कार वाट एकदमै पर बस्नु होला। नत्र जनताले गुल्ट्याउँछन्। कुरा बुझ्नु भो?'
प्रकाशित: ११ चैत्र २०८२ ०८:३६ बुधबार